टोकियो/जापान। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानद्वारा आयोजित टोकियो कविता कन्सर्ट -२, २०२४ आइतबार टोकियोमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा साहित्यप्रेमी जयन्ती मगर सरगम, शरद पोखरेल, डा. वैकुण्ठ भट्ट र सविना रेग्मीका देशप्रेम, जागरण, परदेशका कथा, प्रेम लगाएतका कविताहरु प्रस्तुत भएको थियो ।अनेसास जापानको कविता कन्सर्टमा लगातार २४ कविताहरू वाचन भएको थियो ।

जयन्ती मगरले ‘रेमिट्यान्सले देश धानीरहेछ’ भन्दै प्रवासी आवाजका साथ सुरु गर्नुभएर, ‘भीरफूल’ शिर्षकमा नारी उत्थानका कुरा, ‘ल्हासा आएकी मूना’ मार्फत विवसताले परदेशिएकाको कथा, ‘बेपत्ता सन्तानलाई आमाको आव्हान’ मार्फत मातृप्रेम, ‘फूलमायाको बयान’मा हुरी मार्फत बिद्रोहका आवाज, अनि ‘हुक्का र तिमी’ शिर्षकमा रतिराग प्रेमभावलाई प्रकट पार्ने कविता पस्कनुभएको थियो ।
यसैगरि कवि शरद पोखरेलले ‘ख्वामितका जुत्ता’ मार्फत दमनको प्रबृत्तिमाथि प्रहार गर्दै कविता बाचनको उद्घाटन गर्नुभएको थियो । ‘बा, गाई र देश’ मार्फत कर्मशिल बुवाका कर्मलाई सम्मान गर्दै सम्झना गरेका पोखरेलले जातिय बिभेद बिरुद्धको आवाजलाई कविता मार्फत रुपा “सुनारको हातमा के छ ? “ भनि न्यायालय र समाजप्रति प्रश्न राखेका थिए । ‘शीरको मोति’ मार्फत आफ्नी अर्धागिंनिलाई समर्पित प्रेमभावको सर्मपण गरेका पोखरेलले ‘उ बेलाको बर्खा’ मार्फत बाल्यकाललाई टपक्क शब्दमा उनेर कविता भावमा सुनाउँदै, आफ्नो धेरै रुचाइएको कविता ‘मेरा गणितका गुरु’ सुनाउँदै जीवन र शिक्षाको तालमेललाई मेल गराउन अनुरोध गर्दै सहभागीहरुलाई कविता कन्सर्टमा मन्त्रमुग्ध बनाएर बिदा भएका थिए ।


‘बिमानस्थलमा एक दिन’ कविता मार्फत देशको परिस्थितिलाई सचित्र शब्दमा उतारेर बिमानस्थलको दृश्य मार्फत कविताको थालनी गर्नुभएका कवि वैकुण्ठ भट्टले ‘आगो’ कविता मार्फत बेथिति बिरुद्ध भुईं मान्छेका कथा र भावना सुनाउनुभएको थियो । ‘देशको मानचित्र’ मार्फत देश भनेको भूगोल मात्र हैन रहेछ भन्ने भाव प्रकट गर्दै ‘प्रयोगशालामा एउटा शरीर’ कवितामा जीवन र जगतको वर्णन कवि भट्टका कवितामा स्पर्श गर्न सकिन्थ्यो । ‘उनको जन्मदिनमा’ कविता मार्फत प्रयसीप्रतिको समर्पण भाव व्यक्त गर्नुभएका डा. भट्टले ‘छोडी जानेको नाममा’ कवितामा वियोगान्त र सर्मपण प्रकट गर्दा साहित्यिक कन्सर्टमा रसास्वादन गर्ने साहित्यिक अनुरागीहरु मन्त्रमुग्ध देखिन्थे ।
विशेषत छन्दका कवितामा पोख्त रचयिता तथा बाचिका कविका रुपमा परिचित सविना रेग्मीले ‘प्रियतम प्रति’ कविता भुजुगंप्रयात छन्दमा पस्कँदै प्रेमभाव प्रकट गर्नुभएको थियो । कविता ‘भोक आन्दोलन’ मार्फत देशको यथार्थता सचित्र पस्कँदै कोरिया कामदारमा जान चाहने क्रममा भएको प्रहरी दमनमा मारिएका युवाको भाव र परिवारका बेदनालाई शार्दूलविक्रिडित छन्दमा पस्कनुभएका रेग्मीले ‘बजार्न सक्छु पाखुरी’ पञ्च चामर छन्दमा र ‘बाँच्न सकियोस’ शिर्षकमा देशका लागि केहि राम्रो गर्न सकियोस भन्ने भाव शिखरिणी छन्दमा बाचन गर्नुभएको थियो । ‘चिन्तन’ शिर्षकमा द्रुतविलम्वीत छन्द र ‘ए देशवासीहरु’ कविता शार्दूलविक्रिडित छन्दमा पस्कँदै नयाँ र जोशिला युवा पुस्तालाई साना अपजसमा खेदो भन्दा पुरानाका कर्तुतमा मौन बस्नेहरुप्रति कटाक्ष सहित खवरदारी गर्दै देश परिवर्तनको लागि नयाँलाई मौका र अवसर दिनुपर्ने युवा आव्हानको कवितामा हलले गडगडाहट तालि बजाएर समर्थन जनाएको थियो । राष्ट्रिय गानबाट उद्घाटन गरिएको कविता कन्सर्टमा सभाध्यक्ष अनेसास जापानका अध्यक्ष अरुण पौडेल रहनुभएको थियो भने कार्यक्रम संचालन महासचिव अनिल कुमार निर्दोशले गर्नुभएको थियो । कार्यक्रममा अनेसास जापानका पूर्व अध्यक्षहरु प्रकाश पौडेल माईला, दिप पाठक, गिरिजा गैरे, रविन शर्मा लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिसहित राष्ट्रिय साहित्य प्रतिष्ठानका महासचिव मधु पाठक लगायत ६० बढि साहित्यप्रेमी अनुरागीहरु कार्यक्रम संचालनको पुरै अवधि वसेर कविता कन्सर्टलाई सफल बनाएका थिए । कार्यक्रममा कविता बाचन निरन्तर ३ घण्टा सम्म चलेको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार