टोकियो/जापान। जापान सरकारले डिसेम्बर महिनादेखि नयाँ माईनाहोकेन (マイナー保険証- My Number Health Insurance) प्रणाली कार्यान्वयनमा ल्याउन लागेको छ। यससँगै, नागरिकहरूले आफ्नो माई नम्बर कार्डलाई स्वास्थ्य बीमा कार्डको रूपमा पनि प्रयोग गर्न सक्नेछन्। यसले स्वास्थ्य सेवा प्रणालीलाई डिजिटल रूपान्तरण गरी सहज, सुरक्षित र प्रभावकारी बनाउने सरकारको योजना रहेको छ। यसै अनुरुप डिसेम्बर २ तारिखबाट जापानमा नयाँ होकेन्स्यो जारी गर्न बन्द गरिनेछ।

माईनाहोकेन(マイナー保険証)किन लागु गरिँदैछ?

जापानमा माईनाहोकेन प्रणाली लागू गर्नुको मुख्य उद्देश्य नागरिकहरूको स्वास्थ्य र बीमा प्रणालीलाई एकीकृत गर्नु हो। यसले स्वास्थ्य सेवा प्रणालीलाई डिजिटल र सरल बनाउने, पारदर्शिता ल्याउने, र समय बचत गर्ने सरकारको लक्ष्य छ। यस प्रणालीले नागरिकहरूको स्वास्थ्य तथ्यांकलाई एकद्वार प्रणाली मार्फत स्वास्थ्य सेवा पहुँचलाई सहज बनाउने प्रयास गर्ने अपेक्षा गरिएको छ।

हाल भइरहेको होकेन कार्ड प्रयोग हुन्छ कि हुँदैन?

जापान सरकारले नयाँ माईनाहोकेन प्रणाली ल्याएपछि पुरानो स्वास्थ्य बीमा कार्डलाई प्रयोगबाट हटाउने तयारी गरेको छ। तर, डिसेम्बरदेखि यो नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै केही समयसम्म दुबै कार्ड (पुरानो स्वास्थ्य बीमा कार्ड र माईनाहोकेन कार्ड) मान्य हुनेछ। तर पुरानो कार्डलाई प्रतिस्थापन गर्नका लागि माईनाहोकेन प्रयोग गर्नेहरुलाई,केहि छुटको व्यवस्था गरि आकर्षण थपिने छ। पुराना कागजी होकेन कार्डहरुको सट्टामा माईनाहोकेन बन्ने समयसम्मका लागि प्रयोग गर्नसकिने फरक व्यवस्था गरिनेछ।तर सरकारले केहि समय भित्रै सबैलाई माईना होकेनमा समेट्ने योजना अघि सारेको छ।

यो प्रणालीका फाइदाहरू के के छन् त ?

१. स्वास्थ्य सेवामा सरलता: नागरिकहरूले एकै कार्ड प्रयोग गरी स्वास्थ्य बीमा, व्यक्तिगत तथ्यांक र सरकारी सेवाहरूमा पहुँच पाउनेछन्। यसले अस्पतालमा बिरामीलाई धेरै प्रक्रिया पूरा नगरी स्वास्थ्य सेवा उपलब्ध गराउनेछ।

२. डिजिटल तथ्यांकको एकीकरण: यसले नागरिकको स्वास्थ्य सम्बन्धी तथ्यांकलाई एकीकृत गर्न मद्दत गर्छ, जसले गर्दा स्वास्थ्य सेवाहरू थप प्रभावकारी बन्नेछन्।

३. प्रशासनिक खर्चमा कमी: नयाँ प्रणालीले प्रशासनिक कार्यलाई डिजिटल बनाउन मद्दत गर्ने भएकाले राज्यको खर्च बचत हुनेछ र नागरिकहरूले सजिलै सेवा पाउनेछन्।

४. बीमा सम्बन्धी पारदर्शिता: माईनाहोकेनको प्रयोगले बीमाको कभरेज र सुविधा पारदर्शी हुने भएकाले, नागरिकहरूले स्वास्थ्य सेवामा सही र स्पष्ट जानकारी प्राप्त गर्न सक्नेछन्।
५.माईनाहोकेनको कार्यन्वयनले स्वास्थ्य सेवालाई पूर्णरुपमा डिजिटल बनाउनेछ। यसो हुँदा सम्बन्धित बिरामीले विगतमा गराएका स्वास्थ्य जाँच,सेवन गरेको औषधी लगायतका सम्पूर्ण जानकारी स्वास्थ्य संस्थाले एकै क्लिकमा प्राप्त गर्नेछन् । जसको कारण उपचार प्रभावकारी किफायती दुबै हुने अपेक्षा गरिएको छ।

यसका बेफाइदाहरू पनि छन् की ?

१. डेटा सुरक्षा र गोपनीयता जोखिम: स्वास्थ्य सम्बन्धी संवेदनशील जानकारीलाई डिजिटल माध्यमबाट व्यवस्थापन गर्दा गोपनीयता उल्लंघन हुने जोखिम रहन्छ। डेटा चोरीको सम्भावनाले मानिसहरूलाई चिन्तित बनाएको छ।

२. प्रविधिमा असहजता: वृद्ध नागरिक र प्रविधिमा अनभिज्ञ व्यक्तिहरूलाई माईनाहोकेन प्रणाली प्रयोग गर्न कठिन हुन सक्छ। यस्तो अवस्थामा, सबैजनालाई यसको प्रयोगमा सहजता ल्याउन आवश्यक छ।

३. सर्वत्र सेवा पहुँचको समस्या: यो प्रणाली सबै स्वास्थ्य सेवाप्रदायकहरूद्वारा स्वीकार्य नहुन सक्छ, विशेष गरी ग्रामीण क्षेत्रमा। यसले स्वास्थ्य सेवामा पहुँचमा असमानता ल्याउन सक्ने बहसहरु पनि उठ्न थालेको छ।

४. नयाँ प्रणालीलाई स्वीकार्न कठिनाई: धेरै नागरिकहरूलाई अनिवार्य रूपमा डिजिटल प्रणालीमा जानुपर्ने दबाब असहज हुन सक्छ। यसका कारणले कतिपय नागरिकहरूले नयाँ प्रणालीलाई स्वीकार गर्न चुनौतीको रूपमा लिइरहेका छन् ।

यद्यपी, जापानको यो नयाँ माईनाहोकेन प्रणाली स्वास्थ्य सेवाको डिजिटल सुधारका लागि महत्त्वपूर्ण कदम हो। यसले स्वास्थ्य सेवामा पारदर्शिता, सरलता, र समयको बचत गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।तर , सफल कार्यान्वयनका लागि डेटा सुरक्षा, सर्वत्र सेवा पहुँच, र नागरिकहरूको प्रविधिमा सहजता आदिलाई सरकारले ध्यानमा राख्नुपर्ने देखिएको छ। र सोहि अनुरुप सरकारको डिजिटल विभागले कार्य गरिरहेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार