टोकियो/जापान। जापानका धाराहरुमा वितरण भएका धेरै स्थानका पानीमा क्यान्सरजनक रसायन भनेर चिनिने पिएफएएस(PFAS) फेला परेको जापानी संचार माध्यमहरुले जनाएका छन् ।

अहिले धेरै मानिसहरुमा यस्तो रसायन आफ्नो शरीरमा कति छ ? यसले कस्तो असर पार्दछ भनेर चिन्ता थपिदिएके छ । यसैबिच धेरै वर्षदेखि पीएफएएस अनुसन्धानमा संलग्न क्योतो विश्वविद्यालयका एसोसिएट प्रोफेसर हारादा कोजीले बताए अनुसार रगत परीक्षणबाट रगतमा यस्ता रसायनको मापन गर्न सकिन्छ। तर,दुर्भाग्यवश, जापानमा व्यक्तिगत परीक्षणमा खासै प्रगति भएको छैन ।

पिएफएएस (PFAS) भनेको के हो ?
पीएफएएस (PFAS) भनेको Per- and Polyfluoroalkyl Substances भन्ने रसायनहरूको समूह हो। यी रसायनहरू सिंथेटिक (कृत्रिम) रूपमा बनाइएका हुन्छन् र धेरै लामो समयसम्म टिकी रहन्छन्। पीएफएएसलाई “फरएभर केमिकल्स” (Forever Chemicals) पनि भनिन्छ, किनभने यी वातावरणमा सजिलै बिग्रिदैनन्।

पीएफएएस विभिन्न औद्योगिक उत्पादनमा प्रयोग हुने रसायन हो, जसले तेल, पानी, र तातो तापबाट सुरक्षा दिन्छ। यसले कपडा, खाना राख्ने प्याकेजिङ,ननस्टिकी भाँडा, र अग्निनिरोधी फोममा प्रयोग हुने गर्छ।
पीएफएएसको उच्च स्तरमा लामो समयसम्म सम्पर्क हुँदा
मिर्गौला र कलेजोको समस्या,थाइराइड ग्रन्थीमा असन्तुलन,प्रतिरोध क्षमता कमजोर हुने,क्यान्सरको जोखिम तथा गर्भावस्थामा समस्या र अन्य विविध जन्मजात समस्याहरु हुनसक्ने बताईन्छ।

आफ्नो पानीमा पीएफएएस छ कि छैन, कसरी थाहा पाउने  ?
यसको लागि पानीको परीक्षण गराउनुनै सबैभन्दा उत्तम विकल्प हो । जापानमा पानी परीक्षण गर्ने ल्याबबाट पानीमा मिसिएका रसायनहरुको विश्लेषण गराउन सकिन्छ। यसका साथै जापानमा अहिले यसबारेमा उच्च चासो दिइएको हुनाले तपाईंको क्षेत्रको पानीको गुणस्तर सम्बन्धी सरकारी रिपोर्टहरू हुनसक्छ। त्यसलाई अनलाईन तथा सम्बन्धीत निकायबाट जानकारी लिएर हेर्न सकिन्छ।

त्यसो त,पीएफएएस पानीमा मात्रै नभइ,फास्ट फुड प्याकेजिङ गर्ने बक्सहरुमा,वॉटर-रेसिस्टेन्ट कपडा र फर्निचरहरुमा, खाना पकाउन प्रयोग गरिने ननस्टिकी भाँडाहरुमा,आगो निभाउन प्रयोग गरिने फोमहरुका साथै मेकअप र अन्य वॉटर-प्रूफ प्रडक्ट्सहरुमा पनि पाउन्छ।

पीएफएएसबाट बच्न के गर्ने?
कार्बन फिल्टर वा रिभर्स अस्मोसिस सिस्टम लगाएर पानी फिल्टर गर्नुहोस्। यस्ता रसायनहरु भित्रिने खाद्य प्याकेजिङ र अन्य उत्पादनहरूको लेबल ध्यानपूर्वक पढ्नुहोस्। स्थानीय सूचनाहरु पढ्नुहोस् किनकी जापानको क्षेत्रीय प्रशासनले यो विषयमा विशेष कदम चालिरहेको हुन सक्छ। यदि तपाईंलाई थप जानकारी चाहनु हुन्छ भने, तपाईंको क्षेत्रमा उपलब्ध पानी परीक्षण सुविधा र सरकारी सूचना हेर्नु भएमा विस्तृतरुपमा बुझ्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार