टोकियो/जापान। टोकियो महानगरले प्रसूति समयमा हुने पीडालाई कम गर्नको लागि प्रयोग गरिने “पीडारहित प्रसूति” (एनेस्थेसिया) मा लाग्ने खर्चमा १ लाख येन सम्मको सहायता प्रदान गर्ने भएको छ। महानगरका अनुसार, पीडारहित प्रसूति खर्चमा सहयोग गर्ने यो टोकियोको महानगरको निर्णय जापानमै पहिलो पटक भएको हो। अहिलेसम्म जापानभर कतै पनि बच्चा जन्माउने समयमा हुने पिडा कम गर्नका लागि प्रयोग गरिने एनेस्थेसियाको लागतमा साहयता दिने व्यवस्था छैन।

टोकियो महानगरले सन २०२५ को आर्थिक वर्षको बजेट प्रस्तावमा समावेश गरिने योजनाहरूको बारेमा १० तारिखदेखि गभर्नर कोइकेको सहभागितामा समीक्षा सुरु गरेको छ। यसैक्रममा ११ तारिखमा, जनसङ्ख्या घट्ने समस्याको सामना गर्नका लागि आवश्यक उपायहरू बारे छलफल गरिएको थियो।जसको परिणामस्वरूप, यो वर्षको अक्टोबरदेखि टोकियो भित्रका स्वास्थ्य संस्थानहरूमा एनेस्थेसिया प्रयोग गरी, प्रसूतिका क्रममा हुने पीडालाई कम गरेर गर्भवती महिलाको बोझ हल्का गराउन, “पीडारहित प्रसूति” गराउने टोकियो निवासी गर्भवती महिलाहरूलाई अधिकतम १ लाख येनको सहयोग प्रदान गरिने निर्णय भएको बताईएको छ।

महानगरका अनुसार, पीडारहित प्रसूति खर्चमा सहयोग गर्ने यो निर्णय जापानका प्रिफेक्चरहरुमा पहिलो पटक गरिएको हो। यसका लागि टोकियोले ११ अर्ब येन बजेट छुट्याएको छ।

त्यस्तैगरी, यसअघि दोस्रो वा त्यसपछिका बच्चाका लागि निःशुल्क बनाइएको बालहेरचाह शुल्कलाई यो वर्षको सेप्टेम्बरदेखि पहिलो बच्चाका लागि पनि विस्तार गरिने भएको छ।

महानगरले यस कार्यक्रमका लागि ७६३ अर्ब येनको कुल बजेट छुट्याएको छ। यो योजनाले टोकियो भित्रका सबै परिवारका बच्चाहरूका लागि बालहेरचाह शुल्क निःशुल्क हुनेछ।

महानगरले समीक्षा प्रक्रिया पूरा गरेपछि यो महिनाको अन्त्यसम्म बजेट प्रस्ताव सार्वजनिक गर्ने र त्यसपछि टोकियो महानगर सभामा यसको अनुमोदन गराउने लक्ष्य राखेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार