टोकियो/जापान। जापानमा पनि अन्य मूलुकमा जस्तै धनीहरु झन झन धनी र गरिबहरु झन झन गरिब हुँदै जाने ट्रेन्ड कायमै रहेको देखिन्छ । नोमुरा रिसर्च इन्स्टिच्युटका अनुसार, जापानका धनी तथा अति धनी व्यक्तिहरूले राखेको सम्पत्तिको मूल्य हालसम्मकै उच्च स्तर ४६९ खर्ब जापानी येन पुगेको छ। तर, देशका अधिकांश जनताले राखेको सम्पत्तिको वृद्धिदर निकै कम देखिएको छ।

सन् २०११ देखि २०२३ सम्म जापानका धनीहरूको सम्पत्ति दोब्बर र अति धनीहरूको सम्पत्ति तिनगुणा बढेको छ। तर, देशका करिब ८०% परिवारहरूले राखेको सम्पत्ति भने ४२.२% मात्र वृद्धि भएको छ।

यो सम्पत्ति असमानताको प्रमुख कारण सेयर बजारमा भएको वृद्धिले धनी परिवारहरूलाई फाइदा पुर्‍याउनु हो। विशेष गरी, सन २०२३ मा जापानी येन कमजोर भएपछि धनी जापानी परिवारहरूले राखेको विदेशी सम्पत्तिको मूल्य अझै बढेको रिपोर्टमा उल्लेख छ।

सन् २०११ को अन्त्यदेखि २०२३ को अन्त्यसम्म जापानको प्रमुख सेयर बजार सूचकांक टोपिक्स (Topix) तिनगुणा बढेको छ। यसलाई सन् २०१२ मा सुरु भएका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेका आर्थिक नीतिहरू आवेनोमिक्सले ठूलो समर्थन गरेको थियो।

त्यस पछिका प्रधानमन्त्रीहरुले मध्यम वर्गलाई सहयोग पुर्‍याउने तथा आर्थिक वृद्धिको समान वितरणको पक्षमा वकालत गरे पनि तथ्यांकहरूले देखाएको छ कि जापानको पछिल्ला १३ वर्षका नीति धनी वर्गलाई नै बढी लाभदायक भएका छन्। सन् २०११ देखि २०२३ सम्म १३ वर्षको अवधिमा जापानमा वास्तविक तलब (Real Wages) मात्र तीन वर्ष बढेको पाइयो।

त्यसबेला, सन २०२३ मा जापानका सबैभन्दा धनी ३% परिवारहरूले देशको कुल परिवारिक सम्पत्तिको २६% भाग ओगटेका थिए।

नोमुरा रिसर्चले “धनी” परिवारहरूलाई १० करोडदेखि ५० करोड येन सम्पत्ति भएका तथा “अति धनी” परिवारहरूलाई ५० करोड येनभन्दा बढी सम्पत्ति भएका रूपमा परिभाषित गरेको छ।

रिपोर्टका अनुसार, पछिल्ला वर्षहरूमा केही परिवारहरू अनपेक्षित रूपमा धनी भएका छन्। उनीहरूको सम्पत्ति कर्मचारी सेयर स्वामित्व योजना (Employee Share Ownership Plans) र सरकारको सन् २०१४ मा सुरु भएको कर-मुक्त लगानी कार्यक्रम (Tax-Free Investment Program) को कारण बढेको हो।

साथै, सन् २०२३ यता विभिन्न आर्थिक सूचकहरूले थप वृद्धि देखाएका छन्। जसले गर्दा धनी वर्गको कुल सम्पत्तिमा अझै वृद्धि हुने संकेत दिएको रिपोर्टमा उल्लेख गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार