टोकियो/जापान। नेवा: अन्तर्राष्ट्रिय फोरम जापानद्वारा आयोजित सामुहिक बेल विवाह (ईही) , ब्रतबन्ध (केयता पूजा ) भब्यताका साथ सम्पन्न भएको छ ।मार्च १ तारिख, शनिबारको दिन टोकियो कोतोकु कितासुना स्थित दान्ची हलमा आयोजित यस पवित्र कार्यमा अठार जना बालिकाहरूको बेल विवाह (ईही) र दुई जना बालकहरूको ब्रतबन्ध सम्पन्न गरिएको थियो।
जापानलाई आफ्नो कर्मस्थल बनाउँदै आएको नेवाः समुदायले आफ्ना रीतिरिवाज र परम्परालाई विदेशी भूमिमा पनि अपनाउँदै आएको छ। संस्थाका महासचिव शिव तण्डुकारका अनुसार, बेल विवाह (ईही) चौथो पटक र ब्रतबन्ध दोस्रो पटक आयोजना गरिएको हो। टोकियोका साथै चिवा, साइतामा, योकोहामा, गुन्मा, इबाराकी, र तोचिगीबाट पनि सहभागिता जनाइएको थियो।
“टोकियो बाहेक अन्य शहरबाट पनि यति धेरै संख्यामा सहभागिता जनाइएको यो पहिलो पटक हो। यसले गर्दा हामीलाई आउँदा वर्षहरूमा पनि यस्ता परम्परागत कार्यक्रमहरू आयोजना गर्न अझ ठूलो हौसला र उत्साह मिलेको छ,” संस्थाका उपाध्यक्ष रवि श्रेष्ठले खुशी हुँदै बताए ।
नेपालबाट गुरुज्यू श्री बिरन बज्र बज्राचार्यलाई जापानसम्म आमन्त्रित गरी यो शुभ कार्य सम्पन्न गरिएको थियो। गुरु ज्यूको आमन्त्रणको लागि सम्पुर्ण व्यवस्थाको जिम्मा लिएका पूर्व अध्यक्ष बालकृष्ण डंगोल अनुसार नेपाल बाट गुरू ज्यु बोलाई नेवारी परम्परा अनुसार बेल विवाह (ईही) र ब्रतबन्ध (केयता पूजा) गर्न पाउँदा साच्चिनै पुण्यको काम गरेको अनुभव भएको बताए ।
“जापानको कार्यव्यस्तता र बिदा नमिल्ने समस्याका कारण नेपाल गएर बेल विवाह (ईही) र ब्रतबन्ध गर्न नसकेका धेरै अभिभावकहरूका लागि यो कार्यक्रम विशेष महत्त्वपूर्ण रह्यो,” सहभागी अभिभावकहरूले बताए।
नेपाली राजदूतको उपस्थिति
यस कार्यक्रममा नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी को पनि उपस्थिति थियो। राजदुत सुवेदीले बेल विवाह (ईही) र ब्रतबन्ध गरेका सम्पूर्ण बालबालिकालाई सहभागिताको प्रमाणपत्र वितरण गरेका थिए।नेपाल विभिन्न जातजातिको साझा फूलबारी हो, र यस फूलबारीमा नेवाः समुदाय एउटा सुन्दर फूल हो। कला, संस्कृति, रीतिरिवाज, र परम्परामा धनी नेवाः समुदायले विदेशी भूमिमा पनि आफ्नो संस्कृति जोगाउँदै यस्ता कार्यक्रम आयोजना गर्नु अत्यन्त सराहनीय कार्य हो” राजदुत सुवेदीले भने ।
संस्थाका संस्थापक अध्यक्ष माधव मानन्धरका अनुसार, जापानमा नेवा: समुदायको बसोबास बढ्दै गएकाले नेवा: कला, संस्कृति, रीतिरिवाजको संरक्षण गर्ने तथा नयाँ पुस्तालाई चिनाउने र सिकाउने उद्देश्यले सन् २००३ मा यो संस्था स्थापना गरिएको हो।
“हाम्रो कार्यक्रमहरूमा गैर-नेवा: तथा जापानी समुदायको पनि उल्लेखनीय सहभागिता रहने गरेको छ।हामीले वार्षिक रूपमा म्ह: पूजा, बुद्ध जयन्ति, क्वाटी पुन्ही जस्ता प्रमुख पर्वहरू आयोजना गर्दै आएका छौं।साथै, टोकियोमा आयोजना हुने नेपाल फेस्टिवलमा नेवारी नृत्य, झाँकी, लाखे नाचसमेत प्रस्तुत गर्दै आएका छौं,” संस्थापक अध्यक्ष माधव मानन्धरले प्रष्ट पारे ।
संस्थाको अध्यक्ष रूपेश डंगोलको अध्यक्षतामा आयोजित यस शुभ कार्यक्रमलाई समापन गर्दै सहभागी सबैलाई धन्यवाद व्यक्त गरे । यस बेल विवाह (ईही) र ब्रतबन्धलाई भव्य रूपमा सफल पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हाम्रो कृतज्ञता छ, साथै संस्थाले भविष्यमा आयोजना गर्ने अन्य कार्यक्रमहरूमा पनि सहभागिता जनाइदिनुहुन समेत अनुरोध गरेका थिए ।
झों भ्वएँ र विशेष अनुभव
कार्यक्रमको रात्री भोजमा “झों भ्वएँ” (नेवारी भोज) समेत व्यवस्था गरिएको थियो।नेपालमा समेत कम हुँदै गएको “झों भ्वएँ” जापानमा खान पाउँदा सहभागीहरू अचम्मित हुँदै खुशी भएका थिए।
“वर्षौंपछि ‘झों भ्वएँ’ खाँदैछु, त्यो पनि जापानमा!” सहभागीमध्येका दिलीप कुमार श्रेष्ठले उत्साहित हुँदै भने।”बेल विवाह (ईही) र ब्रतबन्ध मात्र होइन, नेवाः परम्परा अनुसारको ‘झों भ्वएँ’ पनि आयोजनामा समावेश गरिदिएकोमा आयोजक संस्थालाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु,” अर्को सहभागी जानु श्रेष्ठले बताए।
आयोजकका अनुसार,समग्रमा नेवा: अन्तर्राष्ट्रिय फोरम जापानद्वारा आयोजित सामूहिक बेल विवाह (ईही) र ब्रतबन्ध (केयता पूजा) भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको देखिन्थ्यो।”कार्यक्रमको माहोल हेर्दा हामी जापानमा नभएर नेपालमै छौं जस्तो महसुस भइरहेको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




