टोकियो/जापान। हालका वर्षहरूमा जापानमा सवारी चोरीको दर लगातार वृद्धि भइरहेको छ। अपराधी समूहहरूले नयाँ प्रविधिहरूको विकास गर्दै गाडी निर्माताहरूको सुरक्षा प्रणालीलाई छल्ने नयाँ उपायहरू अपनाइरहेका छन्, जसले प्रहरी र अधिकारीहरूको प्रयासलाई चुनौती दिइरहेको छ।

विश्वकै सबैभन्दा ठूलो गाडी निर्माता टोयोटा मोटर कर्पोरेशन सहित जापानका विभिन्न कम्पनीका लक्जरी गाडीहरू चोरीको मुख्य लक्ष्य बनेका छन्। चोरी रोक्ने अत्याधुनिक सुरक्षा प्रणाली भएका गाडीहरू समेत स्मार्ट उपकरणहरूद्वारा ह्याक गरी चोरिने क्रम बढ्दो छ। तर, प्रशासनिक तथा कानुनी रूपमा यस समस्यालाई रोक्ने प्रभावकारी कदम अहिलेसम्म उठाइएको छैन।

जापानको राष्ट्रिय प्रहरी एजेन्सी (NPA) का अनुसार सन २०२४ मा देशभर ६,०८० सवारी चोरी भएका छन्, जुन २०२३ को तुलनामा ३१८ बढी हो। चोरीका अधिकांश घटना कान्तो क्षेत्र (टोकियो महानगर क्षेत्र) वरपर भए पनि आइची प्रिफेक्चर पहिलो स्थानमा पुगेको छ।
सन २०२४ मा आइचीमा ८६६ गाडी चोरी भए, जुन २०२३ भन्दा १६८ वटा बढी हो।

जापानको आईची चोरहरुको निशानामा

आइची जापानको सबैभन्दा ठूलो अटोमोबाइल उद्योग क्षेत्र हो। यहाँ टोयोटाको मुख्यालय छ र जापानभरका कार उत्पादन केन्द्रहरूमध्ये प्रमुख मानिन्छ।आइचीलाई मुख्य लक्ष्य बनाउनका लागि निम्न कारणहरू देखिएका छन् ।

विदेशी तस्करीको लागि सहज पोर्टहरूः
आइचीको नागोया पोर्ट जापानको सबैभन्दा व्यस्त बन्दरगाह हो, जहाँबाट चोरी भएका गाडीहरू समुद्री मार्गबाट विदेश पठाइन्छन्।

लक्जरी गाडीहरूको उच्च संख्या:
आइचीमा टोयोटा ल्यान्ड क्रूजर, अल्फार्ड, प्रिउस हाइब्रिड र लेक्सस जस्ता गाडीहरूको संख्यात्मक रूपमा उच्च उपस्थिति छ, जसले चोरहरूको मुख्य लक्ष्य बनाउँछ।

टोयोटा सहरमा सुरक्षा अभियान
फेब्रुअरी २०२४ मा आइची प्रहरीको टोलीले टोयोटा सहर (टोयोटा मोटरको मुख्यालय रहेको स्थान) का गाडी मालिकहरूलाई सुरक्षा क्यामेरा जडान गर्न सुझाव दिँदै घरमै पुगेर सल्लाह दिएको थियो।

यो अभियान सन २०२३ को जुलाईदेखि सुरु गरिएको थियो। यसले गाडी मालिकहरूलाई चोरी रोक्ने उपायहरूबारे जानकारी दिने र सुरक्षात्मक उत्पादनहरूबारे सचेत गराउने उद्देश्य राखेको छ।

तर, नयाँ प्रविधिहरूको विकाससँगै गाडी चोरहरूको सीप पनि परिष्कृत हुँदै गएको छ। टोयोटाको सुरक्षा एप प्रयोग गर्ने एक ५० वर्षीय व्यक्ति भन्छन्,“हामीले जति प्रविधि अपनाए पनि चोरहरू त्यसलाई छल्न नयाँ तरिका निकाल्छन्। यो सधैं बिरालो-मुसाको खेलजस्तो लाग्छ।”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार