टोकियो/जापान। जापानमा वसन्त ऋतु आउँदा देशभर चेरी ब्लसम (सकुरा) को मनमोहक फूलहरूले वातावरणलाई रङ्गीन बनाउँछन्। यसै अवसरलाई मनाउने जापानी परम्परालाई “हानामी” (花見) भनिन्छ, यसलाई अझ शिष्ट भाषामा ओहानामी(お花見) पनि भनिन्छ। जसको शाब्दिक अर्थ “फूल हेर्ने”हो। यो परम्परा केवल प्रकृतिको सौन्दर्य मात्रै होइन, बरु जापानी जीवनदर्शन, इतिहास, र सामाजिक एकताको प्रतीक हो।

तस्वीरः सुमित्रा लामिछाने

हानामीको उत्पत्ति नारा काल देखि भएको मानिन्छ। यसको सुरुवात चाहीँ चीनको टाङ राजवंशको प्रभावले जापानीहरुले उमे(जापानी आलुबखडा)को फूल हेर्ने चलनबाट सुरु गरेको मानिनिछ । त्यसपछि हेयान काल मा साकुराको फूल हर्ने (हानामी)ले यसलाई प्रतिस्थापन गर्यो र सम्राट सागाले क्योतोमा सकुराको आकर्षणलाई राष्ट्रिय परम्पराको रूपमा स्थापित गरे। एदो काल (१६०३–१८६८) मा शोगुन तोकुगावा येयासुले देशभर चेरी रूख रोप्न लगाएपछि हानामी सामान्य जनताको संस्कृति बनेको बताईन्छ।

तस्वीरः सुमित्रा लामिछाने

हानामीको सांस्कृतिक महत्व गहिरो छ। जापानीहरूले सकुरालाई “मोनो नो आवारे” (जीवनको क्षणभंगुरता) को प्रतीक मान्छन्। फूलहरू केही दिनमै झर्छन्, जसले मानिसलाई जीवनको सुन्दर तर अल्पकालीन प्रकृतिको याद दिलाउँछ। यसले मानिसहरुलाई वर्तमानको आनन्द लिन प्रेरित गर्छ। साथै, यो उत्सव सामाजिक एकताको पनि प्रतीक हो। परिवार, साथीहरू, र सहकर्मीहरू पार्कहरूमा भेला भएर पिकनिक, बेन्तो , साके (जापानी रक्सी)को आनन्द लिन्छन्। टोक्योको उएनो पार्क वा क्योतोको मारुयामा पार्क जस्ता स्थानहरूमा हानामीको मौसममा ठूलो भीड जमघट हुने गर्दछ ।

तस्वीरः सुमित्रा लामिछाने

कला र साहित्यमा पनि सकुराको प्रभाव परेको छ। हाइकु कविता, चित्रकला, र यहाँसम्म कि समुराईहरूले यसलाई “बहादुरी र शुद्धताको प्रतीक”को रूपमा लिन्थे। आधुनिक जापानमा हानामीले पर्यटनलाई ठूलो बढावा दिने गरेको छ। जसले गर्दा देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँछ।

तस्वीरः सुमित्रा लामिछाने

हानामी केवल फूल हेर्ने उत्सव होइन, बरु जापानी संस्कृतिको गहिरो अभिव्यक्ति हो। यसले प्रकृति, मानिस, र संस्कृतिको अद्भुत समन्वयलाई प्रतिनिधित्व गर्छ। जापानीहरूको लागि, सकुराको फूलले जीवनको सुन्दरता र क्षणभंगुरतालाई सम्झाउँदै, हरेक वर्ष वसन्तको आगमनलाई उत्साह र आशाको साथ स्वागत गर्छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार