टोकियो/जापान। जापानभरका सुपरमार्केटहरूमा यतिखेर चामल अत्यन्तै थोरै परिमाणमा मात्रै छ। त्यहि थोरै परिमाणको चामलको मूल्य पनि अत्यन्तै महंगो छ। गत महिना ३० तारिखसम्मको एक हप्ताको अवधिमा ५ किलो चामलको औसत खुद्रा मूल्य करसहित ४ हजार २०६ येन पुगेको छ। सरकारले गत महिना अन्त्यबाट सार्वजनिक रूपमा बिक्रीका लागि जारी गरेको संचित चामलको प्रभावप्रति ध्यान केन्द्रित भइरहेको बेलामा यो मूल्य लगातार वृद्धि भएको हो।

विशेषज्ञहरू भन्छन् — “अहिलेसम्म पनि बजारमा चामल पर्याप्त छैन भन्ने अनुभूति नै मूल्य उच्च रहनुको मुख्य कारण हुन सक्छ।”कृषि, वन तथा मत्स्य मन्त्रालयले देशभरका करिब १ हजार सुपरमार्केटबाट चामलको औसत मूल्य संकलन गरी साप्ताहिक रूपमा सार्वजनिक गर्छ। यसैअनुसार, मार्च २४ देखि ३० तारिखसम्मको एक हप्तामा ५ किलोको औसत मूल्य अघिल्लो साताभन्दा १० येनले बढेर ४ हजार २०६ येन पुगेको देखिएको छ।

हालै सुरू भएको संचित चामलको खुद्रा बिक्रीले मूल्य घट्ने आशा गरिएको भए पनि, मन्त्रालयका अनुसार “त्यो अवधिमा संचित चामलको वितरण हिस्सा सानो मात्र भएको” जनाइएको छ।

गत वर्षको यही समयमा भन्दा हालको चामल मूल्य २ गुणाभन्दा बढी महँगो छ। तर, चामलको कूल बिक्री मात्रा भने ३.१ प्रतिशतले घटेको देखिएको छ।

साइतामा प्रिफेक्चरको कोसिगाया सहरस्थित सुपरमार्केटमा चामलको अभाव अझै देखिएको र मूल्य अझै बढाउने बाध्यता रहेको बताइएको छ। त्यहाँका थोक व्यापारीले संचित चामल आपूर्ति गर्न नसक्दा सुपरमार्केटमा उपलब्ध गराउन नसकेको उल्लेख गरिएको छ।सुपरमार्केटमा अहिले ५ किलो चामलको खुद्रा मूल्य ४ हजार ७ सय देखि ५ हजार ४ सय येन रहेको छ भने, व्यापारीहरूबाट मूल्य अझै बढ्ने सूचना आएको छ।

संचित चामल बिक्रीको प्रभाव

बजारमा संचित चामल देखिन थालेपछि थोक बजारमा थोरै मूल्य घट्ने संकेत देखिएको छ। उदाहरणस्वरूप, सन २०२४ को कान्तो क्षेत्रको ब्रान्ड चामलको औसत मूल्य ६० किलोको लागि ४५ हजार ९९९ येन पुगेको छ, जुन फेब्रुअरीको अन्त्यको तुलनामा ७८१ येनले घटेको हो।

तर, सामान्य बजारमा अझै ५ किलोको चामल ४ हजार येनभन्दा माथिको मूल्यमै बिक्री भइरहेको छ। संचित चामल मात्र केही सुपरमार्केटहरूमा ३ हजार ६ सय देखि ३ हजार ७ सय येनको दरमा देखिए पनि, कुल आपूर्ति अझै अपर्याप्त भएकाले मूल्य घटाउन सकिने अवस्था छैन।

मूल्यको भविष्य के होला?

प्रमुख अनुसन्धानकर्ता ओरिकासा तोशिशुन भन्छन् — “चामलको माग र आपूर्तिको सन्तुलन पहिले नै बिग्रिएको थियो। अहिले बजारमा पुगेको संचित चामलको मात्राले त्यो अभाव पूर्ति गर्न सकिरहेको छैन, जसले गर्दा उच्च मूल्य कायम रहिरहेको छ।”
उनी भन्छन् — “नयाँ बाली आउँदासम्म हालको मूल्य नै स्थिर रहने सम्भावना छ, न त धेरै घट्नेछ, न त धेरै बढ्नेछ।”

कृषि, वन तथा मत्स्य मन्त्रीले भनेका छन् — “संरक्षित चामल आपतकालीन अवस्थामा आपूर्ति सुनिश्चित गर्न राखिएको हो, त्यसैले त्यसको प्रयोगमा सावधानी आवश्यक छ। तर, आवश्यक परेको खण्डमा थप चामल जारी गर्न सरकार पछि हट्ने छैन।”

मन्त्रीले थपे “संचित चामल मात्र बिक्री भई, अन्य चामल बजारमा रहन गएको खण्डमा सम्पूर्ण समस्या समाधान हुँदैन। बजारका सहभागीहरूले नयाँ बाली नआउन्जेलसम्म उपलब्ध चामल बजारमा ल्याउने मनोवृत्ति बनाउन सकुन् भन्ने दिशामा सोच्न जरुरी छ।”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार