ओसाका/जापान। इनोचीनो खागायाकु मिराइ स्याखाईनो देजाइन् (いのちの輝く未来社会のデザイン)”चम्किलो जिवनका लागि भावी समाजको परिकल्पना”भन्ने नारासहित बहुप्रतिक्षित ओसाक, कान्साई अन्तर्राष्ट्रिय एक्सपो आजबाट ओसाकाको कृत्रिम टापु युमेसुमा सुरु भएको छ। विश्वभरका १५८ राष्ट्र तथा क्षेत्रहरू र ७ वटा अन्तर्राष्ट्रिय संस्थाहरू सहभागी यस भव्य प्रदर्शनीको उद्घाटन समारोह भने हिजो (१२ अप्रिल) सम्पन्न भएको थियो।

उद्घाटन समारोहमा जापानका सम्राट तथा सम्राज्ञी, आकिशिनोमिया दम्पती, प्रधानमन्त्री इसिबा, र सहभागी राष्ट्रहरूका प्रतिनिधिहरू गरी करिब १३०० विशिष्ट पाहुनाहरूको उपस्थिति रहेको थियो।

सम्राटको सन्देश : “सुसंस्कृत भविष्यतर्फ मिलेर अघि बढौँ”

उदघाटन समारोहमा सम्राट नारुहितोले सम्बोधन गर्दै भने -“ओसाका,कान्साई एक्सपोलाई अवसरका रूपमा लिएर, मानिसहरूले केवल आफू होइन, वरपरका अन्य मानिसहरूको जीवन, र प्रकृतिसँग सम्बद्ध सबै प्रकारका जीवनलाई पनि सम्मान गरुन् भन्ने मेरो आशा छ।”उहाँले सन् १९७० मा आयोजित पहिलो ओसाका एक्सपोमा १० वर्षको उमेरमा सहभागी भएको बाल्यकालीन अनुभव पनि स्मरण गर्दै,“त्यतिबेलाका नयाँ प्रविधिहरू – चन्द्रमाको ढुंगा देख्नु, वायरलेस फोन प्रयोग गर्नु – अझै सम्झना ताजै छन्। अहिलेका बालबालिकाले पनि यस्तै प्रेरणा प्राप्त गरून्,” भन्दै भविष्यप्रति आशावादी सन्देश दिएका थिए।

प्रधानमन्त्री इसिबाको सम्बोधन : “एकता र संवादको विश्वमञ्च

प्रधानमन्त्री इसिबाले उद्घाटन समारोहमा सम्बोधन गर्दै भने -“१७० वर्ष लामो इतिहास बोकेको एक्सपो केवल प्रविधिको प्रदर्शन नभई, मानव सभ्यताका साझा समस्याहरूको समाधान खोज्ने बुद्धिमत्ता संकलन गर्ने थलो हो।” प्रधानमंत्री इसिबाले विश्व विभाजनको संकटमा रहेको उल्लेख गर्दै,“विविध सोच, संस्कृति र प्रविधिलाई आत्मसात गर्दै ‘जीवन’ भन्ने साझा विषयमा संवाद गर्न यस एक्सपोको भूमिका महत्वपूर्ण हुने पनि बताए।

प्रधानमंत्रीले, सन् १९७० पछि जापानमा यातायात प्रणाली (शिन्कान्सेन, एक्सप्रेस वे) लगायतका विकासले ठूलो फड्को मारेको स्मरण गराउँदै,“ओसाका, कान्साईलाई केन्द्र बनाएर जापानको अन्य भागको पनि खोज र अनुभव गरौँ,” भन्ने आह्वान समेत गरे ।

महिने प्रदर्शनी, २ करोड ८२ लाखभन्दा बढी दर्शकको अपेक्षा

एक्सपो आज (१३ अप्रिल) बाट सुरु भई आगामी अक्टोबर १३ सम्म सञ्चालन हुनेछ। २ करोड ८२ लाखभन्दाबढी दर्शकहरू आउने अपेक्षा गरिएको छ भने, पहिलो दिनमा मात्र १ लाख ४० हजारभन्दा बढी आगन्तुकहरूको आगमन हुने अनुमान आयोजक संस्थाले गरेको छ।

ओसाका, कान्साई एक्सपो केवल प्रविधि र प्रदर्शनको थलो नभई, विश्वभरका मानव, संस्कृति र सोचलाई जोड्ने आशाको केन्द्र बन्ने विश्वास गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार