तस्वीरःएआई जेनेरेटेड

क्योटो/जापान । सधैं अनुशासन, इमानदारीका लागि परिचित देश जापानमा भएको एउटा घटनाले फेरि एकपटक विश्वलाई सोच्न बाध्य बनाएको छ। २९ वर्षसम्म दिनरात सार्वजनिक सेवामा समर्पित एक बस चालकले केवल १ हजार येन ( लगभग ९ सय नेपाली रुपैयाँ)को हिसाब नबुझाई गोजीमा हालेपछि आफ्नो सेवा निवृत्ति भत्ता झण्डै १ करोड २० लाख गुमाउनु परेको छ।

तपाईलाई अचम्म लाग्न सक्छ कि केवल एक हजार यनले यस्तो ठूलो परिणाम ? हो, तपाईंले सही पढ्नुभयो। सन् २०२२ मा क्योटो सहरमा एक बस चालकले यात्रुहरूबाट प्राप्त ११५० येन मध्ये १५० येन मात्रै बसको भाडा संकलन बक्समा हाल्न लगाएर बाँकी १ हजार नगद हातमै राखे। र त्यो दृश्य बसमा जडित सिसि क्यामेरामा कैद भयो। जब कार्यालयमा सोधपुछ भयो, उनले झुट बोले ,पैसा लिएको इन्कार गरे। तर, क्यामेराले त सबै देखाइसकेको थियो!

“क्योतो सहरले उनलाई तुरुन्त बर्खास्त गर्‍यो” — त्यो पनि यस्तो सजायसहित कि २९ वर्षको सेवापछि पाइने सेवा निवृत्तिभत्ता समेत कटौती गरियो। उक्त चालकले “यो सजाय अत्यधिक हो” भन्दै मुद्दा दायर गरे, एकचोटि जिल्ला अदालतले उनको पक्षमा फैसला पनि गर्‍यो। तर, अन्ततः सर्वोच्च अदालतले क्योतो सहरको निर्णय सदर गर्‍यो, र ती चालकले सबै गुमाए ।

“अनुशासनमा ‘जिरो टोलरेन्स’” जापानको सन्देश

क्योतो सार्वजनिक यातायात विभागका अधिकारी शिनइचि हिराई भन्छन्,“हाम्रा चालकहरू एक्लै काम गर्छन्, उनीहरूले जनताको पैसा सम्हाल्छन्। यस्तो अवस्थामा इमानदारीमा प्रश्न उठ्ने कार्यलाई हामी सजिलै लिन सक्दैनौं।”उनले चेतावनी दिँदै भने “यदि हामी नरम बन्यौं भने, यस्ता घटनाले हाम्रो संस्थागत विश्वसनीयता गुम्न सक्छ। जनविश्वास नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो।”

यो घटना अन्य मुलुकका लागि एउटा ‘संस्कारिक झट्का’ जस्तै लाग्न सक्छ — किनकि धेरै ठाउँमा यति सानो रकमको लागि यति ठूलो सजाय असम्भवजस्तै हुन्छ। तर जापानले फेरि देखायो, नैतिकता भनेको रकममा होइन, व्यवहारमा मापन गरिन्छ।

कहिलेकाहीँ लाग्छ अनुशासनको यस्तो स्तरले संसारका धेरै देशलाई अनुकरणीय सन्देश दिन सक्छ। यति लामो सेवा गरेर, जीवनभरको कमाइबाट केही सेकेन्डको लोभले सबै गुमाउनु पर्यो । यो उनको लागि मात्रै नभई ,यो सामग्री पढ्ने सबैको लागि एउटा सदैब स्मरण गराईरने चेतावनी हो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार