टोकियो/टोकियो। जापानका सुपरमार्केटहरूमा चामलको मूल्य निरन्तर उकालो लागिरहेको छ। पछिल्लो तथ्यांकअनुसार, ५ किलो चामलको औसत मूल्य हाल ४ हजार २ सय १७ येन पुगेको छ, जुन लगातार १५ हप्तादेखि बढ्दो छ।

तर औसत मूल्यले मात्र अहिलेको वास्तविक अवस्था समेट्न सक्दैन। कतिपय सुपाहरुमा त्यही ५ किलोको चामल ६ हजार येनसम्म पर्न थालेको छ। त्यसमा पनि गुणस्तरीय चामल पाउन सहज छैन, ग्राहकहरूले खोज्नैपर्ने अवस्था आएको छ।

चामल महँगिनुको पछाडि धेरै कारणहरू छन्। एकातिर, मल, इन्धन, ढुवानी जस्ता उत्पादन र आपूर्ति लागत बढेका छन्। अर्कातिर, मौसम प्रतिकूलताका कारण केही क्षेत्रहरूमा धान उत्पादन घटेको छ, जसले बजारमा चामलको आपूर्तिमा असर पुर्‍याएको छ।

दैनिक जीवनको आधारभूत खाद्यपदार्थ चामल महँगिँदा सामान्य उपभोक्ताको घरायसी खर्चमा प्रत्यक्ष प्रभाव परेको छ। धेरै परिवारले सस्तो विकल्प खोज्न थालेका छन् भने, केहीले दैनिक चामलको प्रयोगमै कटौती गर्नुपरेको गुनासो गरिरहेका छन्।

चामलको मूल्य लगातार बढिरहेको भए पनि हालसम्म सरकारबाट ठोस समाधानको संकेत देखिएको छैन। उपभोक्ताहरू भने मूल्य नियन्त्रणका लागि तत्कालीन हस्तक्षेपको अपेक्षा गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार