टोकियो/जापान। जापानका ठूला कम्पनीहरूका कर्मचारी र उनीहरूका परिवारहरू आबद्ध हुने स्वास्थ्य बीमा संस्था अहिले गम्भीर आर्थिक संकटमा परेका छन्। सन् २०२३ आर्थिक वर्षमा मात्रै, यस्ता संस्थाहरूले करिब १ खर्ब ३६ अर्ब येन बराबरको घाटा बेहोरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा झण्डै २ खर्ब ७४ अर्ब येनले बढी हो।

घाटाको प्रमुख कारणहरूमा, जापानमा वृद्धहरूको संख्या बढ्दै जानु र उनिहरुको स्वास्थ्य सेवा खर्चलाई अत्यधिक बढ्नु रहेको छ ।वृद्धावस्थाका लागि स्वास्थ्य बीमा संस्थाहरूले गरेको योगदान सन् २०२४ मा ३ खर्ब ८० अर्ब येन नाघ्ने अनुमान गरिएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब ५ प्रतिशतले बढी हो।

यसका अलवा अस्पताल, औषधि तथा उपचार खर्चमा समेत वृद्धिका कारण सन् २०२३ मा बीमा लाभ खर्च झण्डै ५.३ प्रतिशतले वृद्धि भएको देखिएको छ। महामारीका कारण नियमित चेकअप, अस्पताल भर्ना र उपचार सेवामा अधिक खर्च गर्नु परेकाले पनि घाटा बढेको बताइएको छ।

सन् २०२४ को अन्त्यसम्ममा, स्वास्थ्य बीमा संस्थाहरूको घाटा ६ खर्ब ५८ अर्ब येन पुगेको आँकलन गरिएको छ। वृद्ध जनसंख्याको उपचार खर्च अझै बढ्ने देखिएकाले, योगदान रकममा थप वृद्धि हुनु स्वाभाविक मानिएको छ।

स्वास्थ्य बीमा संस्थाहरू दीर्घकालीन रूपमा सञ्चालन गर्न असहज बन्दै गएका छन्। वृद्ध जनसंख्याको बढ्दो बोझ, उपचार खर्चमा वृद्धि र जनसंख्या घट्दो क्रममा रहेका कारण, यसलाई सुधार गर्न सरकार तथा सम्बन्धित निकायहरूले ठोस रणनीति र सुधार कार्यक्रम तत्काल ल्याउनु आवश्यक छ। यदि यथास्थितिमा सुधार भएन भने, कर्मचारी वर्गका लागि आवश्यक पर्ने स्वास्थ्य बीमा सेवा नै जोखिममा पर्न सक्ने खतरा देखिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार