टोकियो/जापान। सन् २०२३ आर्थिक वर्षमा जापानको वातावरण मन्त्रालयले गरेको सर्वेक्षणअनुसार, सम्भावित क्यान्सरजन्य रसायनहरू पिएफएएस( PFAS – पर्फ्लुओरोएल्काइल र पोलीफ्लुओरोएल्काइल पदार्थहरू) जमिनमूनीको पानी तथा नदीको पानीमा मापदण्डभन्दा बढी मात्रामा फेला परेको छ। यो स्थिति जापानका ४७ मध्ये २२ वटा प्रिफेक्चरहरुको २४२ स्थानमा देखिएको बताईएको छ।

सर्वेक्षण अनुसार, पिउने पानीका रूपमा यी ग्राउन्डवाटर (जमिनमूनीको पानी) वा नदीको पानी प्रयोग गरिएको थिएन। टोकियो, कानागावा, ओसाका, हिरोशिमा र ओकिनावालगायतका २२ प्रिफेक्चरमा रहेका २४२ स्थानमध्ये ४२ स्थानमा PFAS को मात्रा नयाँ रूपमा मापदण्डभन्दा बढी पाइएको हो।

PFAS विगतमा पानी प्रतिरोधी तह निर्माण र फोम-अग्नि निभाउने उपकरणहरूमा प्रयोग गरिन्थ्यो। जापान सरकारले PFAS का मुख्य तत्वहरु PFOS र PFOA को उत्पादन र आयात सन् २०२१ सम्ममा प्रतिबन्ध गरिसकेको छ। सरकारले हाललाई ट्याप वाटर (धाराको पानी) मा PFOS र PFOA को संयुक्त मात्रा ५० न्यानोग्राम प्रति लिटरभित्र सीमित गर्ने अस्थायी लक्ष्य राखेको छ।

यो सर्वेक्षण ३९ वटा प्रिफेक्चरले आर्थिक वर्ष २०२३ (मार्च २०२४ मा समाप्त) मा २,०७८ स्थानमा गरेका मापनको नतिजामा आधारित छ। ओसाका प्रिफेक्चरको सेचु सहरमा ग्राउन्डवाटरमा सबैभन्दा उच्च मात्रा २६,००० न्यानोग्राम फेला परेको थियो, जुन मापदण्डभन्दा ५२० गुणा बढी हो।

ओकिनावा प्रिफेक्चरको कदेना सहरमा सर्वेक्षण गरिएका सबै १३ स्थानमा PFAS को मात्रा मापदण्डभन्दा बढी पाइएको छ। सो क्षेत्रमा थुप्रै अमेरिकी सैन्य बेसहरू अवस्थित छन्।

बिस्तृत जानकारी 

PFAS भनेको “Perfluoroalkyl and Polyfluoroalkyl Substances” हो। यो एक प्रकारको मानव निर्मित (कृत्रिम) रसायन समूह हो, जुन:पानी, तेल, र फोहोर प्रतिरोधी बनाउनका लागि प्रयोग गरिन्छ । यसका साथै  कपडा, खाना प्याकेजिङ, नन-स्टिक cookware (जस्तै टेफलोन) र अग्नि निभाउने फोमहरूमा व्यापक रूपमा प्रयोग भएको थियो।

PFAS को असरहरू के-के हुन्?
• स्वास्थ्यमा असर: लामो समयसम्म शरीरमा जम्मा हुँदा क्यान्सर (विशेषगरी कलेजो, मृगौला आदिमा) हुने जोखिम बढाउँछ,
• हर्मोन (अन्डोक्रीन) प्रणाली बिगार्न सक्छ,
• प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ,
• गर्भवती महिला र बच्चाको विकासमा समस्या ल्याउन सक्छ।
• पर्यावरणमा असर: PFAS धेरै “persistent” हुन्छ, अर्थात् यो माटो, पानी र जीवजन्तुमा लामो समयसम्म रहन्छ र सजिलै विघटन हुँदैन।
• यसले जल स्रोतहरू र खाद्य श्रृंखलालाई प्रदूषित गर्छ।यसैले PFAS लाई “forever chemicals” (सधैं बाँकी रहने रसायन) पनि भनिन्छ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार