टोकियो/जापान। सन् २०२५ को एक वर्षभित्र मूल्य वृद्धि हुने खाद्य वस्तुहरूको संख्या १४ हजारभन्दा बढी हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा पनि बढी हो। कच्चा पदार्थको मूल्य वृद्धिदेखि लिएर जनशक्ति अभावसम्मका कारणले विभिन्न खाद्य वस्तुहरूको मूल्यमा व्यापक वृद्धि भइरहेको छ।

निजी अनुसन्धान संस्था तेइकोकु डेटा बैंकले जापानभरका प्रमुख १९५ वटा खाद्य उत्पादन कम्पनीहरूमाथि गरेको सर्वेक्षणअनुसार,यस महिनामा मात्रै ४७८ थरी खाद्य वस्तुहरूको मूल्य बढ्नेछ।

त्यस्तै, आगामी जुन र जुलाई महिनामा करिब १ हजारभन्दा बढी खाद्य वस्तुहरूमा मूल्य वृद्धि हुने अनुमान गरिएको छ।

सर्वेक्षणअनुसार, कम्पनीहरूले आगामी अक्टोबर महिनासम्म मूल्य वृद्धि हुने घोषणा गरिसकेका वस्तुहरूको संख्या १४ हजार ४०९ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १ हजार ८ सयले बढी हो।

मूल्य वृद्धि हुने प्रमुख वस्तुहरू:मसला तथा स्वाद दिने वस्तुहरू (जस्तै: करीको रू, दासि आदि): ४ हजार ९०४ वस्तु, प्रोसेसिंग खाद्य वस्तुहरू (जस्तै: फ्रोजन फूड, प्याक गरिएको भात आदि): ३ हजार ६८५ वस्तु ,मदिरा तथा पेय पदार्थहरू (जस्तै: बियर, सौफ्ट ड्रिङ्क): २ हजार ७५९ वस्तु।

कम्पनीहरूले मूल्य वृद्धिको कारणमा कच्चा पदार्थको मूल्य बढ्नुका साथै, ढुवानी खर्च, विद्युत, ग्यास जस्ता युटिलिटी लागत वृद्धि पनि प्रमुख कारण भएको उल्लेख गरेका छन्।तेइकोकु डेटा बैंकका अनुसार, “जनशक्ति अभावका कारण श्रम लागतसमेत बढिरहेको छ। त्यसैले ग्रीष्मपछिका महिनाहरूमा खाद्य कम्पनीहरूले मूल्य समायोजन गर्ने प्रवृत्ति अझै बढ्ने देखिन्छ।”यसको असर उपभोक्ताको दैनिक खर्चमा पनि प्रत्यक्ष देखिन सक्छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार