फाइल तस्बिरः सगरमाथा आरोहण गर्ने प्रथम महिला जुनको ताबेई

टोकियो/जापान। विश्वको सर्वोच्च शिखर सगरमाथामा महिला आरोहणकर्ताद्वारा गरिने हजारौँ पटकको सफल चढाइको सङ्ख्या अब चाँडै १ हजार पुग्न लागेको छ।

सन् १९७५ को मे १६ मा जापानकी जुनको ताबेईले सगरमाथाको चुचुरोमा पाइला राख्दै इतिहास रचिन्। उनी सगरमाथा चढ्ने पहिलो महिला थिइन्। आज, पाँच दशकपछि, हिमालयन डाटाबेसका तथ्यांकअनुसार महिलाहरूले ९६२ पटक सगरमाथा सफलतापूर्वक चढिसकेका छन्। पुरुषहरूले भने ११ हजार ९५५ पटक यो शिखर चढेका छन्।

ताबेईले आफ्नो सम्पूर्ण महिला टोलीसहित चढाइ सुरु गर्दा सामाजिक पूर्वाग्रह, आर्थिक अभाव र प्रायोजकको असहयोग जस्ता चुनौतीहरू सामना गर्नुपरेको थियो। उनलाई बारम्बार “बच्चा हेरेर बस्नु उपयुक्त” भन्ने सुझाव दिइन्थ्यो। तर, उनले फर्किएपछि आफ्नो डायरीमा लेखिन् — “सबै पुरुषहरूले हाम्रो चाहनामा सीमितता लगाउन खोज्छन्, तर म त्यो स्वीकार्दिन।”

उनको सफलतापछि, ११ दिनमै तिब्बती महिला फान्तोगले अर्को पाटोबाट सगरमाथा चढेकी थिइन्। आफू पहिलो भएको ठानेकी उनले झरेपछि मात्रै ताबेई पहिल्यै पुगिसकेको थाहा पाइन्।

आजसम्म ८५ मुलुकका ८ सय ७० जना महिलाहरूले सगरमाथा चढिसकेका छन्। तीमध्ये केहीले पटक–पटक चढ्ने सफलता प्राप्त गरेका छन्।

विश्वको शिर सगरमाथा नेपालमै भएता पनि नेपाली महिलाहरूको सहभागिता भने तुलनात्मक रूपमा कम देखिन्छ। नेपाली पुरुषहरूले सगरमाथा चढ्ने आधाभन्दा बढी संख्या ओगट्दा, नेपाली महिलाहरूको हिस्सेदारी मात्र ९ प्रतिशत (६६ जना महिलाबाट ९० पटक) रहेको छ।

सन् १९९३ मा पासाङ ल्हामु शेर्पा सगरमाथा चढ्ने पहिलो नेपाली महिला बनिन्। तर, झर्ने क्रममा बिरामी सहयात्रीलाई सहयोग गर्दै गर्दा उनी आफैं पनि ज्यान गुमाउन पुगिन्। उनको सम्मानमा सगरमाथाको आधार शिविरमा उनको नाममा समर्पित स्वागतद्वार बनाइएको छ।

उनको पदचिन्ह पछ्याउँदै सन् २००० मा ल्हाक्पा शेर्पा दोस्रो नेपाली महिला बनिन् र अहिलेसम्म १० पटक सगरमाथा चढ्दै महिलामाझ कीर्तिमान कायम राखेकी छन्।

सन् २०१२ मा दावा याङजुम शेर्पा सगरमाथा चढ्ने मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणित गाइड बन्न सफल एकमात्र नेपाली महिला हुन्। उनले यो क्षेत्रमा महिलाका लागि अझै ठूलो चुनौती रहेको बताउँछिन्।

सगरमाथा अक्सिजन बिना चढ्ने चुनौती भने अझै कठिन मानिन्छ। अहिलेसम्म केवल २२९ आरोहण अक्सिजन बिना सफल भएका छन्, तीमध्ये १० जना मात्र महिला छन् । सन् १९८८ मा न्यूजिल्याण्डकी लिडिया ब्रेडीले अक्सिजन बिना सफल चढाइ गरि पहिलो महिला बनेकी थिइन्।

हिमालयन डाटाबेसकी निर्देशक बिली बियरलिङका अनुसार, महिलाहरू जोखिममा सतर्कता अपनाउने, तयारीमा समय दिने र आवश्यकता अनुसार पछि फर्किन सक्ने निर्णयमा बढी सचेत हुन्छन्।

यही कारणले महिलाहरूको सफलता दर पुरुषहरूभन्दा कम (६६% देखि ७५%) भए पनि मृत्यु दर भने कम छ — महिलाको १५३ प्रयासमा १ जनाको मृत्यु हुने दर छ भने पुरुषमा ७० प्रयासमा १ जनाको।

सन २०००को दशकमा सगरमाथा चढ्ने पुरुष र महिलाको अनुपात १६:१ थियो भने हाल यो १०:१ मा झरेको छ। सामाजिक धारणा, आर्थिक स्वतन्त्रता र अवसर विस्तारले महिलाहरूको सहभागिता बढ्दै गएको देखिन्छ।

सगरमाथा चढाइको लागत भने अझै पनि धेरै महँगो छ प्रति व्यक्ति ४५ हजारदेखि २ लाख अमेरिकी डलरसम्म पर्न सक्छ।

जुनको ताबेईबाट सुरु भएको महिला पर्वतारोहणको यो यात्रा आज संसारभरका महिलाहरूको प्रेरणाको स्रोत बनेको छ। अब सगरमाथाको शिखरमा महिला सफलताको “हजारौँ पाइला” गन्न केही मात्र आरोहण बाँकी छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार