टोकियो / जापान।जापानमा नगदरहित (क्यासलेस) भुक्तानीको प्रयोग तीव्र गतिमा बढिरहेको छ। क्रेडिट कार्ड, इलेक्ट्रोनिक मनी तथा QR कोडमार्फत हुने कारोबार प्रमुख रूपमा अपनाइँदै गएको छ। हाल व्यक्तिगत उपभोगको कुल खर्चमध्ये ४२.८ प्रतिशत नगदरहित माध्यमबाट भइरहेको छ भन्ने तथ्याङ्क सार्वजनिक भएको छ।

जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले सन् २०२५ सम्म नगदरहित कारोबारलाई ४० प्रतिशत पु-याउने लक्ष्य लिएको थियो, तर त्यो लक्ष्य सन् २०२४ कै अन्त्यसम्ममा पूरा भइसकेको जानकारी दिइएको छ। सन् २०२४ मा नगदरहित कारोबारको कुल परिमाण १४१ खर्ब येन (अन्दाजी ९८० अर्ब अमेरिकी डलर) पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११.३ प्रतिशत ले वृद्धि भएको हो।

यो तथ्याङ्क सन् २०१० मा कायम गरिएको ३८ खर्ब ३० अर्ब येन सँग तुलना गर्दा करिब ३.७ गुणा बढी हो। सोही वर्षको विवरणअनुसार, कुल नगदरहित भुक्तानीमध्ये क्रेडिट कार्डको हिस्सा सबैभन्दा धेरै ८२.९ प्रतिशत रहेको छ भने QR कोड लगायत डिजिटल माध्यमबाट गरिएका भुक्तानीको हिस्सा ९.६ प्रतिशत रहेको छ।

कोरोना महामारीपछि जनस्वास्थ्य सुरक्षाको आवश्यकताले नगदरहित भुक्तानीलाई थप प्रवर्द्धन गरेको हो। अनलाइन किनमेलसँगै धेरै भौतिक पसलहरूमा पनि स्मार्टफोन एप (जस्तै PayPay), सम्पर्करहित कार्ड तथा क्रेडिट कार्ड सहज रूपमा स्वीकार गरिन थालेका छन्।

तर, अन्य विकसित मुलुकहरूसँग तुलना गर्दा जापानमा क्यासलेस कारोबारको अनुपात अझै पनि कम छ। जापान क्याशलेस एसोसिएसनका अनुसार, सन् २०२२ मा दक्षिण कोरियामा ९९ प्रतिशत कारोबार नगदरहित थिए भने चीनमा ८३.५ प्रतिशत, सिंगापुरमा ६५.६ प्रतिशत, बेलायतमा ६४.२ प्रतिशत र अमेरिकामा ५६.४ प्रतिशत कारोबार नगदरहित भएका थिए।

जापान सरकारले क्यासलेस कारोबारको हिस्सा ८० प्रतिशत सम्म पु-याउने दीर्घकालीन लक्ष्य लिएको छ। यसले प्रयोगकर्तालाई सहजता दिने, नगद व्यवस्थापनको खर्च घटाउने र श्रमिक अभावको समस्यालाई कम गर्ने विश्वास गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार