टोकियो/जापान। जापानको राजधानी टोकियोमा एकजना पूर्व ट्याक्सी चालकले करिब ५० जना महिलालाई निन्द्रा लाग्ने औषधि खुवाएर बलात्कार गर्ने तथा अस्लिल भिडियोहरु खिच्ने गरेको अभियोगमा पक्राउ गरिएको जापानी संचार माध्यमहरुमा खबर प्रकाशित भएको छ।

टोकियो प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार, पूर्व ट्याक्सी चालक ५४ वर्षीय पुरुषले सन् २००८ देखि यौन दुर्व्यवहार गर्दै आएका थिए, जसको ३ हजारभन्दा बढी भिडियो र तस्बिरहरू प्रहरीले बरामद गरेको जनाएको छ।

प्रहरीले बताएअनुसार, ती व्यक्तिले गत वर्ष एक २० वर्षीया महिलालाई ट्याक्सीमा चढेपछि निन्द्रा लाग्ने औषधि खुवाई बेहोश बनाएका थिए। त्यसपछि उनलाई आफ्नो घर लगेर यौन दुर्व्यवहार गरेका थिए, जसको भिडियोसमेत खिचिएको थियो। अनुसन्धानका क्रममा पीडितको कपालमा निन्द्रा लगाउने औषधिको अवशेष भेटिएको जनाइएको छ।

यसअघि पनि ती चालकलाई २०२३ अक्टोबरमा अर्की महिलालाई नशालु पदार्थ खुवाएर ४० हजार येन लुटेको आरोपमा पक्राउ गरिएको थियो। त्यसबेला उनलाई केही समयपछि रिहा गरिएको थियो।
प्रहरीले ती व्यक्तिको मोबाइल फोन, ल्यापटप लगायतका उपकरणहरूबाट फेला पारेको आपत्तिजनक सामग्री हेर्दा ३ हजारभन्दा बढी भिडियोहरूमा करिब ५० जना महिलामाथि यौन अपराध गरिएको देखिएको बताएको छ। प्रहरीले घटनालाई गम्भीर यौन अपराधको श्रेणीमा राखी विस्तृत अनुसन्धान जारी राखेको छ।

जापानजस्तो सुरक्षित मानिने मुलुकमा समेत यस्ता घटना दोहोरिनु चिन्ताजनक विषय हो। विशेषगरी महिला यात्रुहरूले अपरिचित ट्याक्सी वा निजी सवारीमा यात्रा गर्दा सतर्कता अपनाउनु अत्यावश्यक छ। एक्लै यात्रा नगर्ने, आपतकालीन सम्पर्क नम्बर सेट गर्ने,यात्रा ट्र्याकिङ अन राख्ने, वा सार्वजनिक यातायात प्रयोग गर्ने जस्ता उपायले यस्तो जोखिमबाट बच्न सकिन्छ।

नेपालन्युजपोस्टले यस्ता संवेदनशील घटनाहरूमा थप जानकारी र सचेतनामूलक सामग्री निरन्तर प्रकाशित गर्दै जानेछ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार