टोकियो/जापान। साईतामाको वाको शहरमा कार्यरत जापानी वैज्ञानिकहरूको एक टोलीले यस्तो प्लास्टिक विकास गरेको छ, जुन समुद्री पानीमा केही घण्टामै पूर्ण रूपमा विलिन हुन्छ। समुद्र प्रदूषण र जलजीवहरूको अस्तित्वमा खतरा बनिरहेको प्लास्टिक समस्याको समाधानतर्फ यो खोज एक महत्वपूर्ण उपलब्धि मानिएको छ।

रिकेन सेन्टर फर इमर्जेन्ट म्याटर साइन्स र टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले बनाएको यो नयाँ प्लास्टिक अन्य बायोडिग्रेडेबल (जैविक रूपमा नष्ट हुने) प्लास्टिकहरूभन्दा निकै छिटो नष्ट हुने र कुनै पनि हानिकारक अवशेष नछोड्ने दाबी गरिएको छ।

साईतामा प्रिफेक्चरको वाकोस्थित प्रयोगशालामा गरिएको प्रदर्शनमा, पाँच सेन्टिमिटरको एउटा सानो प्लास्टिकको टुक्रा नुनिलो पानी (समुद्री पानीमा) राखेर करिब १ घण्टा जति हल्लाउँदा पूर्ण रूपमा विलिन भएको देखाइएको थियो।

हालसम्म यसलाई बजारमा ल्याउनेबारे विस्तृत योजना नखुलाइए पनि, परियोजनाका प्रमुख वैज्ञानिक ताकुजो आइदाका अनुसार, प्याकेजिङ्ग उद्योगका विभिन्न पक्षहरूबाट यसमा ठूलो चासो देखिएको छ।

वैज्ञानिक आइदाका अनुसार, यो प्लास्टिक परम्परागत पेट्रोलियम-आधारित प्लास्टिकसरह बलियो भए पनि, नुनसँग सम्पर्कमा आउँदा आफ्नै मूल संरचनामा विघटित हुन्छ। ती मूल तत्वहरूलाई प्राकृतिक रूपमा पाइने ब्याक्टेरियाले सजिलै नष्ट गर्न सक्छ, जसले माइक्रोप्लास्टिक नबनाइ जलजीवको जीवनचक्रलाई सुरक्षित बनाउँछ।

नुन जमिनमा पनि हुने भएकाले, करिब ५ सेन्टिमिटरको प्लास्टिक टुक्रा जमिनमा पनि २०० घण्टा पछि पूर्ण रूपमा नष्ट हुने उनी बताउँछन्।

यो प्लास्टिकलाई विशेष कोटिङ गरिएपछि सामान्य प्लास्टिक झैं प्रयोग गर्न सकिन्छ। अहिलेको अनुसन्धान मुख्यतः उपयुक्त कोटिङ प्रविधिमा केन्द्रित रहेको आइडाले बताए। साथै, यो प्लास्टिक विषरहित, नज्वलनशील र कार्बनडाइअक्साइड उत्सर्जन नगर्ने भएको उनले जनाएका छन्।

विश्वभर बढ्दो प्लास्टिक प्रदूषणप्रति चेतना
प्लास्टिक प्रदूषण सन् २०४० सम्ममा तीन गुणाले बढ्ने अनुमान गरिएको छ। संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रम (UNEP) का अनुसार, प्रत्येक वर्ष २३ देखि ३७ मिलियन मेट्रिक टन प्लास्टिक समुद्रमा फ्यालिनेछ। यस्तो अवस्थामा जापानी वैज्ञानिकहरूको यो खोजले विश्वभर फैलिँदै गएको वातावरणीय संकट न्यूनीकरणमा आशाको संकेत देखाएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार