जापानमा गर्मीयाम शुरु भएलगत्तै अन्य समुदायहरुसंगै नेपाली समुदायबीच पनि बार्बेक्यु पार्टी गर्ने चलन निकै व्यापक बन्दै गएको छ। वसन्तको सुरुवातसंगै पार्क, नदी किनार र खुला स्थानहरूमा साथीभाइ, आफन्त, परिवारजन भेला भएर खानेपिउने, गीतसङ्गीत र रमाइलोको कार्यक्रम आयोजना गरिँदै आएको छ । यस वर्षपनि हरेक साता कम्तिमा २ वटासम्म यस्ता बार्बेक्यु पार्टीहरु आयोजना भइरहेका छन् । यस्तो पार्टीले परदेशी भूमिमा आपसी सम्बन्ध मजबुत बनाउन सहयोग त गर्छ नै, अझ सही योजना र दृष्टिकोणका साथ आयोजना गरिएमा यसलाई दीर्घकालीन लाभदायी अवसरमा पनि रुपान्तरण गर्न सकिनेछ। आउनहोस् यसबारे केहि चर्चा गरौँ ।

सामुदायिक सम्बन्ध विस्तारको सशक्त माध्यम:
बार्बेक्यु पार्टी विभिन्न पेसा, क्षेत्र र उमेर समूहका नेपालीहरूलाई एकै ठाउँमा ल्याउने अवसर हो। जापानमा नयाँ आएका नेपालीहरूलाई चिनाउने, चिनजान बढाउने र सामाजिक सञ्जाल मजबुत बनाउने थलो बन्न सक्छ। यस्तो अवसरले विशेषतः एक्लोपन अनुभव गरिरहेका व्यक्तिहरूलाई भावनात्मक सहारा दिन सक्छ।

जानकारीमूलक तथा उपयोगी सत्र समावेश गर्ने:
बार्बेक्यु पार्टीका बीचमा छोटो समय छुट्याएर जापानको कानुन, भिसा प्रणाली, श्रम सम्बन्धी नियम, स्वास्थ्य बीमा, आपतकालीन सेवा लगायतका विषयमा जानकारीमूलक सत्र राख्न सके,त्यसदिनको रमाईलो मात्रै नभई जापान बसाईलाई दीर्घकालीन रुपमा सहज बनाउन मद्दत गर्नेछ। यस्तो कार्यक्रमले सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्छ र उनीहरूको जीवनमा प्रत्यक्ष लाभ पुग्न सक्छ।

नेपाली भाषा र संस्कृति प्रवर्द्धन:
यस किसिमका कार्यक्रमहरूमा नेपाली गीतसङ्गीत, नृत्य र परम्परागत खेलहरू प्रस्तुत गरी बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउन सकिन्छ। यदि जापानी साथीहरूलाई पनि निमन्त्रणा गर्न सकियो भने, यो नेपालको सांस्कृतिक प्रवर्द्धनको उत्कृष्ट अवसर समेत बन्न सक्छ।

सामाजिक उत्तरदायित्वमा योगदान:
पार्टीका माध्यमबाट सानो रकम संकलन गरी समुदायका पीडित, बिरामी वा नेपालमा विपद् प्रभावित व्यक्तिहरूलाई सहयोग गर्न सकिन्छ। साथै, पार्टी सकिएपछि पार्क वा स्थल सफा राख्ने जस्ता सामाजिक कार्यले समुदायको जिम्मेवारपन पनि देखाउँछ।

अनुभव साटासाट र उत्प्रेरणात्मक सत्र :
एक खुल्ला सेसनको आयोजना गरेर सहभागीहरूलाई आफ्ना जापान बसाइका संघर्ष र सफलताका अनुभव बाँड्ने अवसर दिएर नयाँ पुस्तालाई हौसला प्रदान गर्नका साथै एकअर्कालाई बुझ्ने सन्दर्भ सिर्जना गर्ने सकिनेछ। यस्ता खालका सामग्रीहरु समावेश गर्न सके,जापानको नेपाली समुदायमा पछिल्ला दिन बढिरहेको आत्महत्याका घटनाहरु न्युनिकरण गर्न समेत मद्दत गर्न सक्नेछ।

व्यवसायिक प्रवर्द्धन र उद्यमशीलता प्रोत्साहन:
पार्टी स्थलमा नेपालीहरूले सञ्चालित स्टोर, रेस्टुरेन्ट वा अन्य सेवाहरूको पोस्टर,पम्प्लेट्स तथा डिस्काउन्ट कुपोन  वितरण गरि व्यवसायिक प्रवर्द्धन गर्न सकिन्छ। यसले उद्यमीहरूलाई बजार विस्तारमा सहयोग पुर्‍याउँछ। साथै नयाँ व्यवसाय सुरु गर्न चाहने व्यक्तिहरूका लागि प्रेरणा र सल्लाहको माध्यम बन्न सक्छ।

अन्त्यमा,बार्बेक्यु पार्टी केवल खानपिन र रमाइलोमा मात्रै सीमित नराखी यदि थोरै सोच, योजना र रचनात्मकता थपियो भने यो कार्यक्रम समुदायको दीर्घकालीन हितका लागि अत्यन्त उपयोगी माध्यम बन्न सक्छ। संयुक्त प्रयास, साझा भावना र सकारात्मक भविष्यको लागि यस्ता कार्यक्रमलाई अगाडि बढाउँदा, जापानमा बसोबास गरिरहेका नेपाली समाज अझ बलियो, आत्मनिर्भर र सकारात्मक दिशामा अघि बढ्नेछ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार