टोकियो/जापान । जापानको मूख्य मोबाईल सेवा प्रदायक कम्पनी मध्येको एक सफ्टबैंकले जुन ११ तारिखमा घोषणा गरे अनुसार मोबाइल फोन सेवा ब्रान्ड “सफ्टबैंक” र “वाईमोबाइल” का करिब १ लाख ४० हजार ग्राहकहरूको नाम, ठेगाना लगायतका व्यक्तिगत विवरण चुहिएको आशंका गरिएको छ। व्यक्तिगत ग्राहकलाई लक्षित गरी टेलिफोनमार्फत गरिने बिक्री प्रवर्द्धनको कामका लागि जिम्मा दिइएको एक कम्पनीमा, त्यस कम्पनीसँग सम्बन्धित एक पूर्वकर्मचारीले ग्राहक विवरण बाहिर लगेका थिए। यसबाट कम्पनीमा जानकारी सुरक्षा व्यवस्थापन निकै कमजोर रहेको देखिएको छ।

सफ्टबैंकका अनुसार, टोकियोको शिनजुकुमा रहेको “युएफ जापान” नामक कम्पनीलाई टेलिफोन बिक्री कार्यको लागि जिम्मा दिइएको थियो। सोही कम्पनीसँग सम्बन्धित एक पूर्वकर्मचारीले सन २०२४ डिसेम्बरमा कम्पनीको कार्यालयमा अनाधिकृत रूपमा प्रवेश गरी, करिब १ लाख ३५ हजार ग्राहकहरूको जानकारी युएसबी मेमोरीमा राखी लगेका थिए।

जानकारी चोरी गर्ने क्रमको दृश्य सिसि क्यामेरामा रेकर्ड भएको बताइएको छ, तर ती पूर्वकर्मचारीले “यस्तो कुरा सम्झना छैन” भन्दै अस्वीकार गरेका छन्। यस विषयमा सफ्टबैंकले प्रहरीसँग पनि परामर्श गरिरहेको छ।

छानबिनको क्रममा अर्को सहयोगी कम्पनीका कर्मचारीले ग्राहकको जानकारी क्लाउड सेवामा अपलोड गरेका थिए, जसका कारण सफ्टबैंकको काममा संलग्न नभएका तीन जनाले ती डाटा हेर्न सक्ने अवस्था बनेको पनि पत्ता लागेको छ।

सफ्टबैंकले युएफ जापानले आफूलाई जानकारी नदिई तेस्रो पक्ष सहयोगी कम्पनीसँग सम्झौता गरेको भन्दै, सन २०२५ मे २० मा ती कार्यहरू रोकिएको र जुन ९ मा ती कम्पनीसँगको सम्झौता पूर्णरूपमा रद्द गरिएको जनाएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार