टोकियो/जापान। जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयले जुन १९ तारिख देशभर बिक्री हुने चामलको औसत मूल्यसम्बन्धी नयाँ तथ्यांक सार्वजनिक गरेको छ। यो डेटा पहिलेजस्तो २ हप्ता पुरानो नभई, १ हप्ता अघिको हो र निजी क्षेत्रबाट संकलन गरिएको हो।

नयाँ तथ्यांक अनुसार, जुन १५ तारिखसम्मको एक हप्ताको अवधिमा देशभरका करिब ६ हजार स्टोर (सुपरमार्केट, होम सेन्टर र ड्रगस्टोरहरू) मा चामलको औसत खुद्रा मूल्य ५ किलोमा करसहित ४,०४६ येन रहेको छ। यो अघिल्लो साताको तुलनामा ९० येनले घटेको हो। यससँगै चामलको मूल्य लगातार ४ हप्तादेखि घटिरहेको छ।

क्षेत्रगत मूल्य हेर्दा, शिनु क्षेत्रमा ३,६६२ येन,तोहोकु क्षेत्रमा ३,७०५ येन, होक्काइदोमा ३,७१२ येन मूल्य कायम भएको थियो। तर अर्कोतर्फ,तोकाई क्षेत्रमा मूल्य ४,५४६ येन पुगेको छ, जुन राष्ट्रिय औसतभन्दा करिब ५०० येनले महँगो हो।

अबदेखि कृषि मन्त्रालयले यस्ता डेटा हरेक हप्ता सार्वजनिक गर्ने योजना बनाएको छ।नयाँ डेटा प्रकाशनको कारणबारे कृषिमन्त्री कोइजुमीले भने, “अघिल्लो तथ्यांकहरूमा सरकारी रिजर्भ चामल बिक्री गर्ने स्टोरहरूको जानकारी समावेश गरिएको थिएन, जुन एक कमजोरी थियो। ती स्टोरहरूको मूल्य पनि समेटिनु जरुरी छ। मूल्य ३ हजार येनको हाराहारीमा झरेका क्षेत्र र अझै पनि महँगो रहेका क्षेत्रहरूको सूक्ष्म अनुगमन गर्नु महत्त्वपूर्ण छ।”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार