Screenshot

टोकियो/ जापान । जापानको निगाता प्रिफेक्चरको निगाता सिटीमा घटेको एक अनौठो घटनाले धेरैको ध्यान खिचेको छ। ५१ वर्षीय एक व्यक्तिलाई साइकल चोरीको आरोपमा पक्राउ गरिएको छ। उनले पछिल्ला चार वर्षको अवधिमा ४२ वटा साइकल चोरेको स्वीकार गरेका छन्। कारण के भने? “म आफैँले चाहेजस्तो परफेक्ट साइकल बनाउने सोचमा थिएँ,” उनले प्रहरीलाई भनेका छन्।

गत एप्रिल २ तारिखमा एक सामान्य सडक जाँचको क्रममा प्रहरीले उनलाई रोकेका थिए। जाँच गर्दा उनले चढिरहेको साइकल चोरी गरिएको पुष्टि भएपछि उनलाई तुरुन्तै पक्राउ गरियो। त्यसपछि प्रहरीले उनको घर खानतलासी गर्दा ५० भन्दा बढी साइकलहरू भेट्टाएको छ, जसको मूल्य १० लाख येनभन्दा बढी रहेको अनुमान गरिएको छ।

पक्राउ परेपछि उनले भने, “म विभिन्न साइकलका पार्ट्स संकलन गरेर आफूले चाहेको साइकल बनाउन चाहन्थेँ।” तर समाचार रिपोर्टहरू अनुसार ती सबै साइकलहरू अहिले पनि यथास्थितिमा छन्, कुनैपनि पार्ट्स छुट्याइएको देखिएको छैन। यसले देखाउँछ कि उनले अहिलेसम्म त्यो “आदर्श साइकल” बनाउन सुरुवात नै गरेका थिएनन्।

शुरुमा उनले भनेका थिए कि उनले अन्लक गरिएका, छाडिएका साइकलहरू मात्र लिएका हुन्, तर अनुसन्धानबाट केही साइकलको लक तोडेर चोरी गरिएको पनि पत्ता लागेको छ।उनीमाथि अहिले ३५ वटा साइकल चोरी र ७ वटा हराएका समानहरू दुरुपयोगको आरोप लगाइएको छ। जापानी कानुन अनुसार, हराएको सामान भेट्दा प्रहरीमा बुझाउनुपर्ने कानुनी प्रावधान हुन्छ, जुन उनले उल्लंघन गरेका छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार