टोकियो/जापान। “सेवा परमो धर्म”भन्ने जीवन मन्त्रका सशक्त वाहक स्वामी श्री राजेश्वरानन्द जी महाराज भारतको नयाँ दिल्लीबाट जापान आउन लाग्नुभएको छ। सेवा, प्रेम, दया, त्याग र शान्तिको सन्देश फैलाउने उद्देश्यले उहाँ शनिबार (जुन २१) टोकियोस्थित हानेदा विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।

मानवता र सनातन धर्मका सन्देशवाहक महाराज श्रीले भारतका विभिन्न राज्यहरूमा आश्रम, मन्दिर तथा समाजसेवा केन्द्रहरू सञ्चालन गर्दै आउनुभएको छ। कोभिड महामारीको समयमा उहाँले बेवारिसे शवहरूको अन्त्येष्टि गरी मानवसेवाको अनुपम उदाहरण प्रस्तुत गर्नुभएको थियो। दिल्लीमा दैनिक निःशुल्क भोजन वितरण केन्द्र, एम्बुलेन्स सेवा तथा विपन्न छोरीहरूको विवाहजस्ता सेवाहरू निरन्तर सञ्चालनमा छन्।

जापानमा यही जुन २१ देखि ३० सम्म रहने स्वामीजीको सत्सङ्ग यात्रा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सूक्ष्म योग कार्यक्रमबाट सुरु हुनेछ। राम मन्दिर लगायत विभिन्न स्थानमा भजन-सत्सङ्ग आयोजना हुने कार्यक्रम रहेको छ। विशेषगरी नेपाली समुदायका लागि आयोजित सत्सङ्ग कार्यक्रममा उहाँले जुन २८ तारिख टोकियोको शिन-ओकुबोस्थित सोलमारी मुरा हलमा सम्बोधन गर्नुहुनेछ।

कार्यक्रममा आध्यात्मिक प्रवचन, भजन-कीर्तन तथा जीवनलाई शान्त र आनन्दित बनाउने सन्देश प्रदान गरिनेछ। इच्छुक भक्तजनहरूले भक्त कपिलदेव थापा (०८०-७४७०-८९०१), दीपक सुबेदी (०९०-३४०५-३२०७) दीपक कँडेल (०९०-६४७८-०७६४) सँग सम्पर्क गर्न सकिने बताईएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार