टोकियो/जापान। प्रधानमन्त्री शिगेरु ईशिबा आगामी ग्रीष्मकालीन निर्वाचनको तयारीमा जुटिरहँदा जापानको उपभोक्ता मूल्य वृद्धिदर (महँगी) पछिल्ला दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ। मुलुकको मुद्रास्फीति दर अनुमानभन्दा बढी तीव्र गतिमा बढेको देखिएको छ, जसले बैंक अफ जापानलाई मूल्य स्थायित्वको रणनीतिमा पुनर्विचार गर्न बाध्य पार्न सक्छ।

शुक्रबार सार्वजनिक गरिएको जापानको आन्तरिक मामिला मन्त्रालयको विवरणअनुसार, ताजा खाद्य वस्तुहरू बाहेकको उपभोक्ता मूल्य गत वर्षको मे महिनाको तुलनामा ३.७% ले वृद्धि भएको छ। यो वृद्धिदर लगातार तेस्रो महिना उच्च भएको हो, र सन् २०२३ को जनवरीयताकै सबैभन्दा उच्च भएको हो। यो दर अर्थशास्त्रीहरूले अनुमान गरेको ३.६% को औसतभन्दा पनि बढी हो।

खाद्य मूल्य वृद्धि, विशेषगरी जापानको मुख्य खाद्य वस्तु चामलको मूल्यमा १०२% को भारी वृद्धि, महँगीको मुख्य कारण बनेको देखिन्छ। चामल जस्तो राजनीतिक रूपमा संवेदनशील वस्तुमा यति धेरै मूल्य वृद्धि हुनुले जनजीवनमा प्रत्यक्ष असर पारेको छ।

बैंक अफ जापानले नजिकबाट निगरानी गर्ने सेवा क्षेत्रको मूल्य पनि गत वर्षको तुलनामा १.४% ले वृद्धि भएको छ, जुन अप्रिलको १.३% को तुलनामा थोरै बढी हो।

प्रधानमन्त्री ईशिबाको अल्पमत सरकार तथा विपक्षी दलहरूबीच बढ्दो जीवनयापन खर्च कसरी घटाउने भन्ने विषयमा बहस जारी छ। पछिल्लो वर्ष महँगीकै असरले सत्तारूढ पार्टीले सन् २००९ यताकै सबैभन्दा ठूलो निर्वाचन हार व्यहोर्नु परेको थियो।

एनएलआई रिसर्च इन्स्टिच्युटका आर्थिक अनुसन्धान प्रमुख तारो साइतोका अनुसार, “जापानको महँगी अहिले निकै बलियो स्थितिमा छ – विशेष गरी चामलजस्ता खाद्य वस्तुको मूल्य आकाशिएको छ, जसले अन्य धेरै वस्तुहरूलाई समेत प्रभावित गरेको छ। आजको तथ्यांकले स्पष्ट बनाउँछ कि आगामी महिनाको निर्वाचनमा महँगी मुख्य एजेन्डा हुनेछ।”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार