जापानीहरुको ईमान्दारिताको बारेमा धेरै सुनेको, देखेको थिएँ । केही महिना अगाडि आफैले जापानीको ईमान्दारिता प्रत्यक्ष अनुभव र महशुस गर्न पाएँ । आज म जापानमा मैले अनुभव गरेको एउटा अविस्मरणीय घटना सुनाउन चाहन्छु । जसले जापानी समाजको इमान्दारीलाई पुनः पुष्टि गर्‍यो।

पैसा हराएको क्षणः
एक जना दिदीले ब्यक्तिगत कारोबारको लागि १ लाख ५ हजार येन खाममा राखेर कम्पनीमा दिनुभएको थियो। मैले खाममा दिदीको नाम लेखेर सुरक्षित रूपमा लकरमा राखेँ। ब्रेकमा प्रायः म खाना खान घरमै जाने गर्छु। त्यस दिन पनि लकरबाट खाम ज्याकेटको खल्तीमा राखेर साइकलमा घरतिर लागेँ ।

घरमा खाना खाइसकेपछि पैसा राख्नुपर्छ भनेर खल्ती छामेँ, तर पैसा थिएन। एकैछिनमा मलाई चिन्ताले घेर्‍यो। लकरमै छुटेछ कि भन्ने लाग्यो। केही बेर आराम गरेर कम्पनीमा फर्किएँ र लकर चेक गर्दा खाम थिएन। “लौ, फसाद! पैसा हरायो!” भन्दै म आत्तिएँ।म जस्तो सामान्य काम गर्ने मान्छेको लागि त्यो रकम ठुलो हो।मन अत्तिने भईहाल्यो।कम्पनीदेखि घरसम्मको बाटो राम्ररी चेक गर्दै गएँ, तर कतै पैसा भेटिएन। कम्पनीमा फर्केर लकर र वरिपरिको सबै ठाउँ दोहोर्‍याएर हेरेँ, तर निराशा मात्र हात लाग्यो। अन्ततः कम्पनीका सिनियरसँग सल्लाह गर्दा, प्रहरीमा उजुरी गर्ने सल्लाह भयो।

प्रहरीको सहयोगः
नजिकैको सानो प्रहरी बुथमा पुग्दा त्यहाँ कोही थिएनन्(जापानमा साना प्रहरी बिटहरुमा प्राय खाली नै हुन्छ,त्यस समय प्रहरी स्थानीय निकायको गस्तिमा निस्किएका हुन्छन्।) तर भित्र टेबलमा एउटा सूचना राखिएको थियो जसमा लेखिएको थियो: “प्रहरीहरू गस्तीमा गएका छन्। सँगैको फोन उठाउनुहोस्, फोन प्रहरी कार्यालयमा जोडिनेछ।” मैले सूचना अनुसार गरेँ। दुई-तीन घण्टीपछि फोन उठ्यो। प्रहरीले आफ्नो परिचय दिँदै समस्याबारे सोध्यो। मैले पैसा हराएको बताएपछि उनीहरूले “हराएको कि चोरी भएको?” “कहाँ हराएको?” “कति पैसा थियो?” “केमा राखिएको थियो?” लगायतका विस्तृत विवरण सोधे। मैले सबै कुरा बताएपछि उताबाट एउटा खुसीको खबर आयो: “तपाईंको विवरणसँग मिल्ने एउटा खाम भर्खरै प्रहरी कार्यालयमा आइपुगेको छ।” उनीहरूले पैसा लिन नजिकैको अर्को प्रहरी बुथमा बोलाए।

जापानको इमान्दारीः
हराएको पैसा भेट्टाउँला भन्ने आश जागेर आयो। जापानमा हराएको सामान वा पैसा भेट्टाउनु अनौठो कुरा होइन। यहाँ अधिकांश मानिसहरूले भेटाएको सामान आफूसँग राख्दैनन्। बाटोमा कुनै सामान खसेको देखेमा सामान धनीले देखोस् भनेर सबैले देख्ने ठाउँमा राखिदिन्छन्, वा बेवास्ता गर्छन्। तर, पैसा वा पर्स भेटायो भने चाहीँ तत्काल प्रहरीलाई अथावा नजिकको ट्रेन/बस स्टेशनको हराएको तथा भेटिएको वस्तु बुझाउने डिपार्टमा जिम्मा लगाउने जापानीहरूको एउटा नैतिक प्रचलन नै हो छ।

मेरो हराएको पैसा पनि एक असल जापानीको हातमा परेको रहेछ भन्ने सोचेर म अर्को प्रहरी बुथमा पुगेँ। साइकल बुथअगाडि राखेर भित्र छिर्नेबित्तिकै उनीहरूले “पैसा हराएको मान्छे तपाईं नै हो?” भनेर सोधे। “हजुर हो” भनेपछि उनीहरूले पुनः पैसासँग सम्बन्धित सबै विवरण सोधे: “पैसा कति थियो? कति-कतिको नोट थियो? कुन रङको खाममा थियो? खाममा केही लेखेको थियो कि थिएन? कहाँदेखि कहाँसम्म जाँदा हराएको?” मेरो बयान र विवरण मिलेपछि पैसा मेरै हो भन्ने कुरा पुष्टि भयो। पैसा दिनुअघि उनीहरूले हराएको रिपोर्ट लेख्न लगाए। त्यसपछि बुथ इन्चार्ज बाहिर गएको र केही बेरमा आएर पैसा दिने बताए।

पैसा फिर्ताः
पाँच मिनेटजतिको पर्खाइपछि बुथ इन्चार्ज आए। उनी भित्रबाट पैसाको खाम लिएर आए र “यही हो?” भनेर सोधे। “हो” भनेपछि उनले पैसा मलाई दिए। मैले सुनेको थिएँ कि जापानमा भेटाएको पैसाको केही अंश भेटाउने व्यक्तिलाई दिने चलन छ। मैले पैसा लिँदै “पैसा भेटाएर दिने त्यो असल मान्छेलाई धन्यवाद भन्न चाहन्छु” भनें। तर, ती असल जापानीले आफूलाई केही पनि नचाहिने कुरा प्रहरीलाई बताएका रहेछन्। मैले “हृदयदेखिको आभार र धन्यवाद ती महानुभावलाई सुनाईदिनुहोला” भन्दै बुथबाट बाहिर निस्किएँ।

जापानमा ठूलो-ठूलो रकम हराएर पनि भेटिएको खबर सुनेको र पढेको थिएँ, आज आफैँले अनुभव गरेँ। बाटोमा भेटिएको मेरो १ लाख ५ हजार येन प्रहरीसम्म पुर्‍याइदिने ती असल मनका धनी जापानी नागरिकलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु।
कुमार मोक्तान, ताचिकावा, जापान
( लेखकः नेपाल पत्रकार महासंघ जापान शाखाका सल्लाहकार हुन् )

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार