तस्बिरःएआई

टोकियो/जापान। जापानमा काम सम्बन्धी मानसिक रोगका घटनाहरू आर्थिक वर्ष सन २०२४ मा १ हजार ५५ पुगेका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा १७२ ले बढी हो। लगातार छैटौं वर्ष यो संख्या नयाँ रेकर्ड बनेको जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ।

यो अवधिमा मानसिक रोगका कारण आत्महत्या वा आत्महत्याको प्रयास सम्बन्धी ८८ घटना दर्ता भएका छन्। यो अघिल्लो वर्षभन्दा ९ ले बढी हो।मानसिक रोगको मुख्य कारण ‘ माथिल्लो तहका कर्मचारीबाट हुने दुर्व्यवहार’ मूख्यरुपमा रहने गरेको छ।

माथिल्लो तहका कर्मचारीबाट शारीरिक तथा मानसिक दुर्व्यवहारका कारण २२४ वटा मानसिक रोगका घटना रिपोर्ट भएका छन्।त्यसपछि कार्यभार तथा कामको जिम्मेवारीमा ठूलो परिवर्तन भएका कारण ११९ वटा घटना रिपोर्ट भएका छन्।
तेस्रो ठूलो कारण भने ग्राहकबाट हुने दुर्व्यवहार (शारीरिक र मौखिक हिंसा) रहेको मन्त्रालयले जनाएको छ।ग्राहकबाट हुने दुर्व्यवहारका कारण १०८ वटा घटना दर्ता भएका छन्। तीमध्ये ७८ घटना महिलासँग सम्बन्धित थिए।

सन् २०२३ को आर्थिक वर्षदेखि ग्राहकबाट हुने दुर्व्यवहारका घटनालाई मानसिक तनावका कारण श्रमिक क्षतिपूर्ति पाउने योग्य सूचीमा राखिएको थियो।मन्त्रालयका एक अधिकारीले भने, “काम गर्ने स्थानभित्रको मानव सम्बन्ध र वातावरणमा आएको परिवर्तनका कारण बलियो मानसिक तनावमा पर्ने श्रमिकहरूको संख्या उल्लेख्य छ।”

कुन क्षेत्रमा धेरै घटना?
पेसागत हिसाबले हेर्दा सामाजिक सुरक्षा तथा कल्याण क्षेत्रमा कार्यरत श्रमिकहरूमा सबैभन्दा धेरै घटना दर्ता भएका छन्।यो समूहमा २७० वटा घटना रिपोर्ट भएका छन्।

उमेर समूह अनुसार ४० देखि ४९ वर्ष उमेर समूह : २८३ घटना, ३० देखि ३९ वर्ष उमेर समूह : २४५ घटना,२० देखि २९ वर्ष उमेर समूह : २४३ घटना रिपोर्ट भएका छन् ।

साथै, मानसिक रोगका कारण श्रमिक क्षतिपूर्तिको लागि दर्ता गरिएका आवेदनहरूको संख्या समेत उच्च स्तरमा पुगेको छ।आर्थिक वर्ष २०२४ मा यस्तो आवेदन संख्या ३ हजार ७ सय ८० पुगेको मन्त्रालयले जनाएको छ।यो अघिल्लो वर्षभन्दा २०५ ले बढी हो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार