टोकियो/जापान। जापानभरि आज शनिबार व्यापक रुपमा अत्यधिक गर्मी बढिने मौसमी पूर्वानुमान रहेको छ।मौसम विभागका अनुसार, जापानको धेरैजसो क्षेत्रमा आजको तापक्रम बिहानदेखिनै सामान्य भन्दा धेरै माथि पुग्दै गृष्मकालीन मौसम जस्तै अवस्था देखिएको छ। कान्तो क्षेत्रदेखि पश्चिम जापानसम्मका विभिन्न सहरहरूमा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी छ।

आज कोफु शहरमा ३६ डिग्री, नागोया र यामागुचीमा ३५ डिग्री तापक्रम पुग्ने अनुमान गरिएको छ। आज दिनभर देशभर उच्च बायुचापको प्रभावले गर्दा चर्को घाम लाग्ने र बिहानैदेखि कडा घाम लाग्न थालेपछि तापक्रम तीव्र गतिमा वृद्धि हुने आँकलन गरिएको छ। आज राजधानी टोकियोमा पनि तापक्रम ३४ डिग्री रहेको छ, यद्यपि यो वर्ष पहिलोपटक ३५ डिग्री पुग्न सक्ने अनुमान गरिएको छ।

सामान्यतया चिसो रहँदै आएका होक्काइदो र तोहोकु क्षेत्रमा समेत आज असामान्य गर्मी देखिनेछ। साप्पोरोमा २८ डिग्री र सेन्दाइमा ३३ डिग्री तापक्रम मापन गरिने बताईएको छ। जुन महिनाको अन्त्यमा यस्तो उच्च तापक्रम विरलै मात्र देखिने भएकाले, स्थानीय बासिन्दाहरुलाई अधिकारीहरूले सचेत रहन आग्रह गरेकाछन् ।

मौसमविद्हरूका अनुसार, आज राति पनि तापक्रम उच्च रहनेछ र धेरैजसो स्थानहरूमा वायुमण्डलीय चिसोपन नहुने भएकाले जोखिमपूर्ण वातावरण हुने चेतावनी दिइएको छ। यस्तो अवस्थामा राति पनि प्रशस्त पानी पिउनु, एयर कन्डिसनर चलाउनु, र शरीरलाई चिसो राख्ने उपायहरू अपनाउनु अत्यावश्यक मानिएको छ।

आज बिहानैदेखि हिरोशिमा, कुमामोतो, कागोशिमा र ओकिनावामा हिटस्ट्रोक चेताना जारी गरिएको छ। ती क्षेत्रहरूमा बसोबास गर्ने वा यात्रा गर्ने नागरिकहरूलाई विशेष सतर्क रहन तथा बाहिर निस्कँदा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

विशेषज्ञहरूको सल्लाह
मौसमविद् र स्वास्थ्य विज्ञहरूका अनुसार, आज जस्तो गर्मीमा निम्न सावधानी अपनाउनुपर्नेछ- प्रशस्त पानी र इलेक्ट्रोलाइट युक्त पेय पदार्थको सेवन गर्ने, नुन वा मिनरल ट्याब्लेट प्रयोग गर्ने, छाता, टोपी तथा हलुका र हावा चल्ने कपडा लगाउने, फ्यान, मोबाइल फ्यान वा नेक्क कूलर जस्ता शीतल प्रदान गर्ने सामाग्री प्रयोग गर्ने, भिजेको टावल वा आइस प्याक प्रयोग गरी घाँटी, खल्ती वा शरीरका अन्य भाग चिस्याउने,बाहिर निस्कनु परेमा छायाँमा विश्राम गर्ने, अत्यधिक गर्मीका समयमा बाहिर ननिस्कने जस्ता उपायहरु लागु गर्ने ।

मौसम विभागले सबै नागरिकहरूलाई आज दिनभर र रातभर हिटस्ट्रोक (熱中症) बाट बच्न आवश्यक सम्पूर्ण सावधानी अपनाउन आग्रह गरेको छ। गर्मीको प्रभाव विशेष गरी बालबालिका, बृद्धबृद्धा, तथा गर्भवती महिलाहरूमा बढी पर्ने भएकाले उनीहरूको हेरचाहमा विशेष ध्यान दिनु अनुरोध गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार