टोकियो/जापान। कच्चा पदार्थको मूल्यमा तीव्र वृद्धि र ढुवानी खर्च बढ्दै गएको कारण, ठूला कन्विनिएंस स्टोरहरूमा कफीको मूल्य पुनरावलोकन गर्ने क्रम तीव्र भएको छ। यससँगै पेय पदार्थको मूल्य बढाउने लहर विभिन्न कम्पनीहरूबीच बढ्दै गएको देखिन्छ।

ठूला कन्विनिएंस स्टोर “लसन्” ले यो महिनाको १ तारिखदेखि स्टोरभित्र उपलब्ध गराइने केही कफी र काफे लात्तेको मूल्य औसतमा लगभग १० प्रतिशतले बढाएको छ।त्यसअन्तर्गत, आइस कफीको एस साइज २० येनले बढेर करसहित १६० येन पुगेको छ।यसको कारण विश्वव्यापी मागको वृद्धि र प्रमुख उत्पादन स्थलहरूमा मौसम प्रतिकूल हुँदा कफीको मूल्य अत्यधिक बढ्नु भएको बताईएको छ। यो मूल्यवृद्धि यस वर्षको मार्चपछि दोस्रो पटक भएको हो।

त्यस्तैगरी, सेभेन-इलेभेन जापानले पनि जुलाई ७ तारिखदेखि कफीको मूल्य पुनरावलोकन गरेको छ।त्यसअनुसार, आइस कफीको रेगुलर साइज २० येनले बढेर करसहित १४० येन भएको छ।

ठूला पेय पदार्थ उत्पादक कम्पनी “इतोएन” ले भनेको छ कि अक्टोबर १ तारिखदेखि पठाइने चियाका पेय पदार्थ लगायत १९५ प्रकारका उत्पादनहरूमा अधिकतम २२.२ प्रतिशत सम्मको मूल्यवृद्धि गरिनेछ।

जापान रिसर्च इन्स्टिच्युटका वरिष्ठ अनुसन्धानकर्ता अत्सुहितो वाकाबायाशी ले भनेका छन्,-“कम्पनीहरू उपभोक्ताहरूले किनमेल घटाउने डरले अहिलेसम्म मूल्यवृद्धिमा सतर्क थिए, तर कच्चा पदार्थको मूल्यमा भएको निरन्तरको वृद्धिले अब तिनीहरूलाई मूल्य बढाउन बाध्य बनाइरहेको छ।गर्मीमा मूल्य बढाउन हिचकिचाउने प्रवृत्ति देखिए पनि, गर्मी कम भइसकेपछि अक्टोबरतिर प्रमुख कम्पनीहरूले एकसाथ मूल्य समायोजन गर्ने तयारी गरेका छन्।अबदेखि ‘१०० येनमा सहज रूपमा कफी पिउन सकिने’ युग शायद फर्केर नआउला।”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार