टोकियो/जापान। जापानभर पछिल्ला केहिदिनयता अत्यधिक गर्मी बढ्दो क्रममा रहेको छ। मौसम विज्ञान विभागका अनुसार ८ जुलाईमा ओइता र कुमामोतोजस्ता केही क्षेत्रमा तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेर खतरनाक तहको गर्मी मापन गरिएको छ। यही गर्मी ९ तारिख पनि देशका धेरैजसो भागहरूमा दोहोरिने प्रक्षेपण गरिएको छ। यसै कारण देशभर ‘हीट स्ट्रोक’ (गर्मीजन्य बिरामी) को गम्भीर जोखिम रहेको भन्दै सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ।

आज ओइता प्रिफेक्चरको हिता सहरमा अधिकतम तापक्रम ३८.६ डिग्री सेल्सियस मापन गरिएको थियो भने कुमामोतोको किकुची सहरमा ३८.२ डिग्री तापक्रम पुगेको थियो। यसैगरी, ह्योगोको फुकुसाकीमा ३७.८ डिग्री, हिरोशिमाको फुचु र नागासाकीको सिमाबारामा ३७.७ डिग्री तापमान मापन भएको छ। राजधानी टोकियोको केन्द्रमा पनि ३५.८ डिग्री तापक्रम मापन भएको छ, जुन लगातार दोस्रो दिन अत्यधिक गर्मीको दिनको रूपमा रेकर्ड भएको छ।

त्यसैगरी रातको समयमा पनि धेरैजसो स्थानहरूमा तापक्रम २५ डिग्रीभन्दा कम नहुने अनुमान गरिएको छ। यसकारण रातमा पनि एसीको प्रयोग, प्रशस्त पानी पिउने, शरीरलाई चिसो राख्ने लगायतका उपाय अपनाउन सुझाव दिइएको छ।

मौसम पूर्वानुमान अनुसार ९ तारिख फुकुओकाको कुरुमे सहरमा तापक्रम ३७ डिग्रीसम्म पुग्न सक्नेछ। कुमामोतो, ओसाका र कोफु सहरहरूमा ३६ डिग्री, जबकि टोकियो, फुकुओका, साइतामा र हिरोशिमा सहरहरूमा तापक्रम ३५ डिग्री पुग्ने सम्भावना रहेको छ। यस्तै, कोबे, नागोया, योकोहामा र फुकुसिमा सहरहरूमा पनि तापक्रम ३४ डिग्री पुग्ने अनुमान गरिएको छ।

हिटस्ट्रोकको अत्यन्तै उच्च जोखिम रहेको भन्दै मौसम विभागले देशका २० भन्दा बढी प्रिफेक्चरहरुमा ‘हीट स्ट्रोक अलर्ट’ जारी गरेको छ। यसरी उच्च गर्मीको चेतावानी जारी गरिएका प्रिफेक्चरहरुमा – इवाते, फुकुसिमा, इबाराकी, साइतामा, टोकियो (२३ वाडा र तामा क्षेत्र), चिबा, कानागावा, यामानाशी, सिजुओका, टोयामा, ह्योगो, वाकायामा, हिरोशिमा, तोत्तोरी, टोकुशिमा, कागावा, एहिमे, फुकुओका, ओइता, नागासाकी, सागा, कुमामोतो र अमामी क्षेत्र बाहेकको खागोशिमा समावेश छन्।

यसरी जापानभर गर्मीको जोखिम बढिरहेको अवस्थामा, मौसम विभागले सबै नागरिकहरूलाई घरबाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न, नियमित रूपमा पानी र नुनिलो पदार्थ सेवन गर्न, आवश्यक नभएसम्म घरबाहिरी गतिविधि नगर्न, र घरभित्र एसी वा पङ्खा प्रयोग गरेर शरीर चिसो राख्न आह्वान गरेको छ। विशेष गरी वृद्धवृद्धा साना बालबालिका र दीर्घरोगी व्यक्तिहरूको सुरक्षामा अझ ध्यान दिन आग्रह गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार