पछिल्लो समय नेपालीहरुको लागि जापान पनि प्रमुख गन्त्यव्यको रुपमा रोजाईमा परेको देखिन्छ। विशेषगरी जापानमा व्यावसायिक भिसा, वर्किङ्ग भिसा, पारिवारिक भिसा र विद्यार्थी भिसामा नेपालीहरु प्रवेश गर्ने गर्दछन भने छोटो समयको लागि टुरिस्ट भिसामा पनि आउने गर्दछन। पछिल्लो तथ्याङ्क अनुसार जापानमा नेपालीहरुको संख्या करिब २ लाख ३० हजार भन्दा माथि रहेको छ।

जापानमा नेपाली विद्यार्थीहरुको लागि अवसर तथा चुनौतीहरु

जापानमा पछिल्लो समय आउने नेपाली विद्यार्थीहरु अधिकांश कक्षा १२ पास गरेर आउने गरेको पाईन्छ। कक्षा १२ सम्म अध्ययन गर्दा घर नजिकैको कलेज घरमा बुवा आमाले पकाएको खाना खाएर आउने जाने गरेका तर एक्कासी अधिकांश विद्यार्थीहरु व्याजमा ऋण खोजि आउनाले पनि आर्थिक भार सँगै विभिन्न चुनौतीहरुको एकैपटक सामना गर्नुपर्ने हुनाले पनि केहि विद्यार्थीहरु हतास हुने गर्दछन। धेरैजसो विद्यार्थीहरुलाई आएको १/२ महिना सम्म काम पाउनै गार्हो हुने अनि नेपालबाट आउँदा नि थोरै रकम मात्र ल्याउने हुनाले सुरुमै आर्थिक अभाव हुने देखिन्छ। जापानमा गाक्को (विद्यालय) शुल्क निकै महङ्गो हुने साथै आवासको लागि कोठाभाडा लगायत अन्य शुल्कहरु पनि उस्तै महङ्गो हुने भएकोले जापानमा नेपाली विद्यार्थीहरुलाई केहि कठिन हुने गर्दछ।
जापानमा विदेशी विद्यार्थीहरुलाई कानुनि रुपमा काम गर्न तोकिएको समय २८ घण्टा रहेको छ भने त्यसरी काम गर्दा गाक्को शुल्क तिरेर आफ्नो दैनिकी जीवनयापनको लागि पुर्याउन पनि गार्हो हुन्छ त्यसैले गर्दा पनि सकेसम्म नगद पैसा दिने काम गर्दछन तर सबै विद्यार्थीहरुले सहजै प्राप्त गर्न भने सक्दैनन।

जापानमा केहि समय धैर्य गरेर भाषागत कुराहरुलाई ध्यान दिई भाषामा राम्रो ज्ञान भएमा कामको लागि कुनै समस्या हुँदैन तर अधिकांश नेपाली विद्यार्थीहरु भाषागत समस्याले गर्दा नै आरुबाइतो देखि सेन्मोन गाक्को प्रवेश र कम्पनी प्रवेश नै निकै चुनौतीको रुपमा देखिएको हुन्छ। नेपालबाट सामाजिक सन्जालमा देखिए जस्तै र कन्सलटेन्सीहरुले सपना देखाएका भन्दा केहि फरक र कठिन चाही अवश्य छ त्यसैले पनि सबैभन्दा पहिले आफुलाई मानसिक रुपमा बलियो बनाउनुपर्दछ। आफुले अनि बुवा आमाले देखेको सपना पुरा गर्न त्यति सहज छैन तर मिहिनेत गर्न सकियो भने जापानमा सुन्दर र सुनौलो भविष्य निर्माण गर्न अवश्य सकिनेछ।

पछिल्लो समय जापानमा नेपाली विद्यार्थीहरुबाट बारम्बार किन आत्महत्याका घटना घटिरहेका छन?

आफुले सोचे अनुसारको प्रतिफल प्राप्त गर्न नसकि दिमागमा धेरै कुराहरुलाई नकरात्मक तरिकाबाट सोच्नु नै आत्महत्यालाई मुख्य कारणको रुपमा लिन सकिन्छ। विशेषगरी नेपालबाट आएको ऋण तिर्न नसक्नु ,भाषाको कमिले गर्दा सोचे जस्तो काम नमिल्नु,कलेजले तोकेको समयमा फि तिर्न नसक्नु , भाषाको कमिले गर्दा सेनमोन गाक्को तथा दाइगाकु प्रवेशको परीक्षा पास गर्न नसक्नु , कामको लागि कम्पनि प्रवेश गर्न नसक्नु , लिभिङ टुगेदरको अपरिपक्कता, विश्वासिलो साथिबाट आफ्नो ब्याक्तिगत घटना सामाजिक सन्जालमा बाहिर आउनु ,स्वास्थ्यमा ठुलै समस्या देखिनु र दुर्घटना परि अङ्गभङ्ग हुनु जस्ता समस्या सिर्जना भएमा पनि जापानमा विद्यार्थीको अवस्था जटिल हुने गर्दछ र यस्तै विभिन्न कारणले यहाँ रहेका केहि विद्यार्थीहरुले आत्महत्यालाई अन्तिम विकल्पको रुपमा आत्मसाथ गरेका हुन्छन्।
पछिल्लो समयका घटनाहरुलाई हेर्दा जापान आएको २/३ महिनामै आत्महत्या विद्यार्थीहरु धेरै रहेका छन । सुरुमा कागजी प्रक्रियागत कामहरु लगाएत बैङ्क खाता खोल्न पनि केहि समय लाग्ने भएकोले हुनाले तुरन्त काम गर्न मिल्दैन त्यसैले यस्ता कुराहरुमा स्वयम व्यक्ति र नेपालबाट परिवारका सदस्यहरुले पनि बुझ्नु पर्ने हुन्छ। कतिपय विद्यार्थीहरुले त आएको २/३ महिनामै नेपालबाट आर्थिक दबाबककै कारण आफुलाई समाल्न नसकी आत्महत्या गरेको पनि पाइन्छ। जापान आउने विद्यार्थी भाईबहिनीहरुले सुरुमै धेरै कमाउने सपना देख्नुभन्दा पनि सुरुमा आफ्नो अध्ययनलाई प्राथमिकता दिन जरुरी छ तर अधिकांश विद्यर्थी भाईबहिनीहरुले आफुलाई अन्य व्यक्तिहरुसँग तुलना गरेर धेरै कमाउने सपना देख्छन जसले गर्दा मानसिक अवस्थासँगै अन्य शारिरीक समस्याहरु पनि देखा पर्दछन ।

आत्महत्याका घटनाहरुलाई न्युनिकरण गर्न चाल्न सकिने केहि कदमहरु

विशेषगरी विदेश एउटा सङघर्ष गर्न सक्ने व्यक्तिहरुको लागि अवसरको मैदान हो त्यसैले कुनै पनि देशमा जानु पुर्व आफुमा सङघर्ष गर्न सक्ने क्षमता तथा आत्मविश्वासलाई राम्ररी विश्लेषण गरेर मात्र विदेशको यात्रा तय गर्न जरुरी हुन्छ। विशेषगरी नेपालबाट जापान आउनु भन्दा पहिले एउटा Consultancy को भरमा र अरुले गरेको प्रगतिलाई देखेर आउने प्रबृतिको अन्त्य गरौँ ।अरुले गरेको कुरा सुनेको भरमा अरुको प्रगति सुनेर भन्दा वास्तविकता बुझेर मात्र अघि बढौ किनकी विदेशीभूमि सामाजिक सन्जालको भित्तामा घुम्न गएका मनोरम दृश्य र मिठो मुस्कान भन्दा धेरै फरक छ ।त्यसैले विदेशीभूमिमा केहि गर्ने सपना बोकेर जानु भन्दा अघि आफ्नो मनस्थितिलाई बलियो बनाएर प्रवेश गर्नु अति उत्तम हुनेछ।

भर्खरै जापान आउनुभएका भाईबहिनीहरुले पनि अहिलेबाट नै अत्याधिक काम भन्दा पनि आफ्नो स्वास्थ्यको ख्यालसँगै भाषालाई विशेष प्राथमिकता दिएर धैर्यताका साथ अघि बढ्न जरुरी पर्दछ, ढिला होला तर नेपालबाट आफ्नो अनि परिवारको लागि बोकेर आएको सुन्दर सपना र भविष्य अवश्य पुरा हुनेछ।
कुनै पनि समस्याको अन्तिम समाधान आत्महत्या हो भन्ने सोचको अन्त्य गरौँ।
(मोहन कुवर सत्यवती-२, चेहेमी गुल्मी हाल जापान ओसाका)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार