खागोसिमा/जापान। जापानको खागोसिमा प्रिफेक्चर अन्तर्गत पर्ने तोशिमामुरा क्षेत्रमा पछिल्ला दिनहरूमा भूकम्प गतिविधि अत्यन्तै सक्रिय देखिएको छ। तोकारा आईल्याण्ड नजिकको समुद्री क्षेत्रमा भूकम्पको आवृत्ति तीव्र बन्दै गइरहेका बेला, हालसम्म १ हजार ८ सय ६१ पटक भूकम्प मापन स्केल १ वा सोभन्दा माथिको झट्का मापन गरिएको जापानको मौसम विभाग ले जानकारी दिएको छ।

तोकारा क्षेत्र अन्तर्गतको आकुसेकिजिमा तथा कोताकराजिमा आसपास गएको जुन २१ देखि भूकम्प गतिविधि बढ्दै आएको छ। आकुसेकिजिमामा हालसम्मकै सबैभन्दा ठूलो सिन्दोउ ६ को भूकम्प पनि मापन गरिएको छ।त्यहाँका वासिन्दाहरुलाई भुकम्पिय जोखिम कम भएका खागोसिमा सहर क्षेत्रमा स्थानान्तरण समेत गरिएको छ।

मौसम विभागका अनुसार, भूकम्पको केन्द्र जमिनको सतहसँग नजिकै भएकाले सामान्य भन्दा झनै धेरै कम्पन महसुस हुने सम्भावना रहन्छ। विभागले त्यस क्षेत्रमा सिन्दोउ ६ को भूकम्प आउन सक्ने चेतावनी दिँदै स्थानीय बासिन्दालाई सतर्क रहन र पूर्वतयारी अवस्थामा बस्न आग्रह गरेको छ।

टोकरा द्वीपसमूह क्षेत्रमा यसअघि सन् २०२१ र २०२३ मा पनि भूकम्प गतिविधि देखिएको थियो। तर यो पटकको भूकम्प संख्या अघिल्ला सबै घटनाहरूभन्दा बढी छ, जसले थप चिन्ता बढाएको छ।

खागोसिमा प्रिफेक्चरको तोशिमामुरा क्षेत्र लगायत तोकारा टापुहरुमा बसोबास गर्ने सबैलाई भूकम्पप्रति सतर्क रहन, आकस्मिक सामग्रीको तयारी गर्न तथा सरकारी सूचनाको नियमित जाँच गर्न मौसम विभागले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार