टोकियो/जापान। सन् २०२५ को पहिलो छ महिनामा जापानले अहिलेसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक भित्र्याएको छ। जापान राष्ट्रिय पर्यटन संगठनले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, जनवरीदेखि जुन महिनासम्म २ करोड १५ लाख विदेशी नागरिक जापान भ्रमण गरेका छन्।

यो संख्या सन् २०२४ को पहिलो छ महिनाको रेकर्ड १ करोड ७७ लाख ८० हजार भन्दा धेरै हो।केवल जुन महिनामै ३३ लाख ८० हजार विदेशी पर्यटक जापान आएका थिए, जुन अघिल्लो वर्षको जुन महिनाभन्दा ७.६ प्रतिशतले बढी हो र जुन महिनाको अहिलेसम्मकै सबैभन्दा उच्च उपस्थिति हो।

जापान घुम्न आउने विदेशीहरुको संख्या देश र क्षेत्रअनुसार हेर्दा- दक्षिण कोरियाबाट सबैभन्दा धेरै ४८ लाख,त्यसपछि चीनबाट ४७ लाख र ताइवानबाट ३३ लाख पर्यटक देखिएको छ। यी सबै देशबाट अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि देखिएको छ। विशेष गरी चिनियाँ पर्यटकको संख्यामा ५३.५ प्रतिशतको उल्लेखनीय वृद्धि भएको देखिएको छ।

यति धेरै विदेशी पर्यटक आउन थालेपछि अत्यधिक पर्यटन/ओभर टुरिज्मका कारण केही प्रमुख पर्यटकीय क्षेत्रका स्थानीय बासिन्दाको दैनिकीमा असर परेको चुनौती पनि देखिएको छ।

जापान पर्यटन एजेन्सीका अनुसार, अप्रिलदेखि जुन महिनासम्मको तीन महिनामा विदेशी पर्यटकले झन्डै २५ खर्ब येन खर्च गरेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो।

यसरी खर्च गर्नेमा- चिनियाँ पर्यटकले सबैभन्दा बढी ५ खर्ब १६ अर्ब येन खर्च,त्यसपछि अमेरिकनहरूले ३ खर्ब ५७ अर्ब येन र ताइवानीहरूले २ खर्ब ९२ अर्ब येन खर्च गरेका छन्।

विदेशी पर्यटकहरूले औसतमा प्रति व्यक्ति २ लाख ३९ हजार येन खर्च गरेका थिए।खर्च गर्नेमा ब्रिटिस पर्यटक अगाडि रहे, जसले औसत ४ लाख ४४ हजार येन,त्यसपछि इटालीबाट आएका पर्यटकहरूले ३ लाख ९८ हजार येन र जर्मनीबाट आएका पर्यटकहरूले ३ लाख ९६ हजार येन खर्च गरे।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार