टोकियो/जापान। जापानमा जीवनयापन अवस्था गत वर्षको तुलनामा सहज भएको सोच्ने जनसंख्याको अनुपात विगत १५ वर्षयताकै न्यूनतम स्तरमा झरेको छ। बैंक अफ जापानले सार्वजनिक गरेको जुन महिनाको त्रैमासिक सर्वेक्षणले यस्तो देखाएको हो।

सर्वेक्षणअनुसार “लिभिङ कन्डिसन डिफ्युजन इन्डेक्स” (जसले गत वर्षको तुलनामा जीवनयापन अवस्था सुधारिएको भन्ने उत्तर दिनेहरूको प्रतिशतबाट खराब भएको भन्नेहरूको प्रतिशत घटाएर निकालिन्छ )माइनस ५७.२ मा पुगेको छ। यो सन् २००९ को सेप्टेम्बरपछि अहिलेसम्मकै सबैभन्दा खराब स्तर हो।

मार्चमा गरिएको अघिल्लो सर्वेक्षणमा यो अंक माइनस ५२.० थियो। जुन सर्वेक्षण अनुसार, आफ्नो जीवनस्तर झन् खराब भएको भन्ने उत्तरदाताको अनुपात ५.१ प्रतिशत विन्दुले बढेर ६१.०% पुगेको छ।त्यसैगरी, “जीवनस्तर सुधारिएको” भन्ने जनसंख्या ०.१ प्रतिशतले घटेर मात्र ३.८% मा सीमित भएको देखिएको छ।

जीवन झन् कठिन भएको अनुभव गर्ने उत्तरदातामध्ये ९३.७ प्रतिशतले मूल्यवृद्धिलाई मुख्य कारणका रूपमा उल्लेख गरेका छन्।

त्यसैगरी, सर्वेक्षणमा सहभागीमध्ये ७०.५ प्रतिशतले देशको समग्र आर्थिक अवस्था पनि गत वर्षको तुलनामा खराब भएको बताएका छन्।
एक वर्षभित्र मूल्य कति बढ्ला भन्ने प्रश्नमा उत्तरदाताहरूले औसत रूपमा १२.८ प्रतिशत मूल्यवृद्धिको अपेक्षा व्यक्त गरेका छन्। यो अघिल्लो (मार्च) सर्वेक्षणको १२.२ प्रतिशत भन्दा बढी हो र सन् २००६ सेप्टेम्बर यता कै उच्चतम स्तर हो।

साथै, देशभर मूल्य वृद्धि भएको अनुभव गरेका उत्तरदाताको अनुपात ९६.१ प्रतिशत रहेको छ, जुन अघिल्लो सर्वेक्षणबाट खासै फरक छैन।

बैंक अफ जापानले यो सर्वेक्षण मे १ देखि जुन ३ सम्म, देशभर २० वर्ष वा सोभन्दा माथिका उमेर समूहलाई समेटेर गरेको हो।

जुन सर्वेक्षण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इस्पात, एल्युमिनियम, गाडी र केही अन्य वस्तुहरूमा थप शुल्क (ट्यारिफ) लगाएको घटनापछिको पहिलो सर्वेक्षण पनि हो।

यस्तो अमेरिकी नीतिको प्रभाव कस्तो पर्छ भन्ने विषयमा भने बैंक अफ जापानका एक अधिकारीले “हामी यकिनसाथ केही भन्न सक्दैनौं” भन्दै स्पष्ट टिप्पणी गर्न मानेनन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार