अहिले जापानमा गैरआवासीय नेपाली संघ(एनआरएनए) को चुनावले निकै चहलपहल ल्याएको छ। उम्मेदवारहरू सामाजिक सञ्जाल, तथा मिडिया अन्तरक्रियामा चुनावी नारासहित सक्रिय छन्। हरेक उम्मेदवारको प्रतिबद्धता झट्ट हेर्दा उत्कृष्ट नै देखिन्छ। तर त्यो प्रतिबद्धता पनि, नेपालकै राजनीतिक शैली झैँ, चुनावमुखी भाषण र आश्वासनमै सीमित हुने बिगतले बताइसकेको छ।विगतमा पनि यस्तै नाराले जापान देखि नेपालसम्म गुन्जयमान हुन्थ्यो।

विद्यार्थीका भोक र ऋण : कसको चासो ?
जापानमा हजारौं नेपाली विद्यार्थीहरू घरको ऋण तिर्ने, भविष्य बनाउने सपना बोकेर आएका छन्। तर तीमध्ये धेरैजसोले ३–४ महिनासम्म काम नपाएर दैनिक जीवन धान्न गाह्रो भएको अवस्था हामी माझ छन्।कोही मानसिक तनावमा छन्।यहीँ तनाव र पिरले आत्महत्या गर्ने पनि निकै छन्। यस्ता विद्यार्थीका लागि एनआरएनए क्षेत्रीय समिति तथा एनआरएनए केन्द्र समेत गम्भीर छैन।यस्तो समस्याको न्यूनिकरण गर्न ठोस निति सहित उपलब्धि र परिमाण मुखि काम गरिरहेको छैन।नारामा भने उत्कृष्ट छ।यस विषयमा नेपाली दूतावास पनि त्यति गम्भीर देखिँदैन। संस्थाले यी समस्यालाई प्राथमिकताको विषय बनाउनुपर्नेमा, हामीले खासै महशुस गर्न सकिरहेका छैनौँ।

नेपालीपन हराउँदैः
जापानमा नेपालीहरूको संख्या बढ्दै जाँदा, हाम्रो सामाजिक सम्बन्ध झन् कमजोर बन्दै गएको देखिन्छ। ‘हामी नेपाली हौं, एक अर्काको साथ दिऔं’ भन्ने भावना झिनिँदै गएको छ। अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्ने मनोवृत्ति कम हुँदै गएको छ। विशेष गरी नेपालबाट लामो समयअघि जापान आएका, पैसा कमाएका र शक्ति आर्जन गरेका केही नेपालीहरू आफैं अब अरू नेपाली शोषण गर्ने अवस्थामा पुगेका छन्। नेपाली फुदोसान (घरबास सम्बन्धी दलाल), नेपाली हाकेन कम्पनी (कम्पनीहरुमा श्रमशक्ति आपुर्ति तथा व्यवस्थापन गर्ने संस्था) ले खासगरी विद्यार्थी भिसामा आएका नयाँ नेपालीहरूलाई ठग्ने, अनावश्यक सेवा शुल्क असुल्ने गरेको दुखद् घटना हामी माझ छन् ।

विशिष्ट दक्ष कामदार(एसएसडब्लु),कुक, र एजेन्टहरूको ठगीः
एसएसडब्लु, कुक र गिजिन्कोकु(नेपालीहरुमा परिचित व्याचलर भिसा) भिसामा लाखौँ खर्चेर आएका नेपाली युवाहरू एजेन्टबाट ठगिएर जापानमा अलपत्र परेका धेरै घटना पनि छन्। कामको ग्यारेन्टी नगरी पठाउने र जापान आइपुगेपछि सम्पर्कविहीन हुने एजेन्टहरूको चलखेल अझै रोकिएको छैन। यस्तो अवस्थामा एनआरएनए, नेपाली दूतावास र सम्बन्धित निकायको भूमिका केवल मौनदर्शकको जस्तो छ।देखाए पनि मधुरो चासो मात्र छ।परिणाम मुखि चासो छैन।

नारा धेरै, व्यवहार शून्यः
एनआरएनएको नेतृत्वमा जाने आकांक्षीहरू निकै गहकिलो र ओझनदार भाषण दिन्छन्। नेपालीको सुखदुःखमा काम गर्छु ।समस्यामा सधै सङ्गै हुन्छु। नेपालीका लागि काम गर्छु। नेपाल-जापान सम्बन्ध राम्रो काम गर्छु।समान अवसर र सम्मान दिन्छु।भन्ने शब्दहरू उम्मेदवारको प्रचार सामाग्री र भाषणमा भरिपूर्ण छ। तर, कार्यगत रूपमा त्यस्ता प्रतिबद्धता ‘कागजमा कुरा र घाँसमा गधा’ जस्तै जस्तै हुन्छन्। व्यवहारमा गरिब विद्यार्थी, अलपत्र श्रमिक वा कानुनी समस्या भोगेका नेपालीलाई सोध्दा थाहा हुन्छ – नारा मात्रै होइन, व्यवहार पनि जरुरी हुन्छ।

दुःखमा सँगै होइन, चुनावमा भिड्न सँगैः
जसरी एनआरएनए चुनाव आउँदा उम्मेदवारहरू नेपालीपन, समर्पण, त्याग आदिका शब्द बोकेर दौडिन्छन्, त्यसरी नै समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्न हिँडेको त कहिल्यै देखिएन। नेपाली नेपालीबीच आत्मीयता र सहकार्यको भावना हुनुको सट्टा, ‘को बलियो?’ भन्ने प्रतिस्पर्धामा दुई ठाउँमा विभाजन गरिँदैछ।बेमेलता सिर्जना गरिदै छ।र एकले अर्कोलाई कसरी तल पार्ने र पद हत्याउने होडबाजी छ।

कानुनी अज्ञानताले डुबेका नेपालीहरूः
जापानमा बसोबास र काम गर्ने नियम प्रष्ट नबुझ्दा र अझ आर्थिक भारले धेरै नेपाली विद्यार्थीहरू कानुन विपरीत २८ घण्टा भन्दा बढी काम गर्छन्, ह्यान्ड क्यास पनि गर्छन् जुन कानुन बिपरित छ। र अन्ततः कानुनी झमेलामा परेर नेपाल फर्कनु परेको छ। यस्तो बिषयमा पनि त्यति गम्भिर भएको देख्दैनौ।

नाफामुखि मेला र महोत्सव?
एनआरएनए, दूतावासले नेपालमा पर्यटन प्रवर्द्धन र जापानी माझ नेपाल चिनाउने नाममा नेपाल फेस्टिवल,लगायत धेरै कार्यक्रम गर्दै आएका छन्। यी कार्यक्रमहरूमा नेता बोलाउने, खादा मालाले सजाउने र जापानका पनि ठुलाबडा नेपाली सजिने खेल धेरै देखिन्छ। तर ती कार्यक्रमहरूबाट वास्तवमै आम नेपालीलाई के फाइदा भयो? यसको जवाफ अनुत्तरित छ।

के गर्न सकिन्छ ?
१. क्षेत्रीय तहमा सक्रियता र अभिलेख राख्ने प्रणालीः
क्षेत्रीय समितिहरूले आफ्ना क्षेत्रका विद्यार्थी, श्रमिक, र समस्या परेकाहरूको यथार्थ अभिलेख राख्नुपर्छ।
समस्या परेको व्यक्तिलाई तत्काल सहयोग गर्न सक्ने सहयोग संयन्त्र विकास गरिनुपर्छ।

२. केन्द्रमै “समस्या समाधान समिति” गठनः
केन्द्रस्तरमै एक विशेष समिति बनाई विद्यार्थी, श्रमिक वा अन्य समस्यामा परेकालाई समन्वय, सहकार्य र ठोस सहयोग गर्ने प्रणाली बनाइनुपर्छ।

३. कानुनी र मनोसामाजिक परामर्शमा जोड
कानुनी सहायता, मानसिक स्वास्थ्य, काम र कर प्रणालीबारे जानकारी दिने परामर्श सेवा सक्रिय बनाइनुपर्छ।

४. निगरानी समिति तथा सामाजिक उत्तरदायित्व संयन्त्रः
उम्मेदवारका प्रतिबद्धता, काम र पारदर्शिताको मूल्यांकन गर्ने स्वतन्त्र निगरानी समिति गठन गरिनुपर्छ।

५. विद्यार्थी र श्रमिक सहायता डेस्कः
प्रत्येक क्षेत्रीय समितिमा ‘सहयोग डेस्क’ स्थापना गरी कानुनी, बसोबास, काम र मानसिक सल्लाह दिने व्यवस्था गरिनुपर्छ।

६. ठगी र शोषण विरुद्ध अनुगमन संयन्त्रः
फुदोसान, हाकेन कम्पनी वा एजेन्टमार्फत हुने ठगी नियन्त्रण गर्न सशक्त निगरानी र सार्वजनिक सूचना प्रणाली लागू गर्नुपर्छ।

७. आपतकालीन राहत कोष स्थापनाको पहलः
आर्थिक संकटमा परेकालाई तत्काल सहयोग गर्न ‘आपतकालीन राहत कोष’ स्थापना गरिनुपर्छ।

८.कार्यशैली र जवाफदेहिता प्रणाली सुधारः
NRNA भित्र आन्तरिक मूल्यांकन, सार्वजनिक प्रतिवेदन र पारदर्शिता अनिवार्य गर्नुपर्छ।

९.नेतृत्व होइन, सेवा बनोस् मूल उद्देश्यः
पदको होड होइन, सेवा भाव र उत्तरदायित्व NRNA नेतृत्वको मूल आधार हुनुपर्छ।

१०.नेपाली–नेपाली संवाद मंच स्थापनाः
आत्मीयता र सहकार्य बढाउन ‘नेपाली संवाद सञ्जाल’ जस्तो पहलबाट अनुभव र सहयोग साझा गर्न सकिने कार्यक्रम थाल्नुपर्छ।

११.“एनआरएन युवा परामर्श केन्द्र” स्थापनाः
नयाँ भिसामा आएका युवालाई सहयोग गर्न स्थायी युवा केन्द्र खोलिनुपर्छ, जसले करियर र कानुनी सल्लाह दिन सकोस्।

१२.नेपाली एजेन्ट निगरानी र सार्वजनिकता कार्यक्रमः
एनआरएनएले प्रमाणित एजेन्टहरुको सुची(Certified Agent List)सार्वजनिक गर्दै एजेन्टको विश्वसनीयता मूल्यांकन गर्ने प्रणाली विकास गरिनुपर्छ।

अन्त्यमा,
एनआरएनए, कसैका लागि नेता बन्ने भर्याङ होइन, यो लाखौं नेपालीको जीवनसँग जोडिएको संस्था हो। चुनावले होइन, कामले मूल्याङ्कन गरिने संस्कृति स्थापित नभएसम्म, यो संस्था सशक्त होइन, शक्ति प्रदर्शनको अखडा मात्र रहिरहनेछ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार