टोकियो/जापान। टोकियोस्थित गैर-नाफामूलक संस्था गुड नेइबर्स जापानद्वारा(Good Neighbors Japan)द्वारा गरिएको एक सर्वेक्षणअनुसार, विद्यालय बिदाका समयमा एकल अभिभावक भएका घरपरिवारका धेरैजसो बालबालिका दिनमा दुई छाक वा त्योभन्दा कम मात्र खाना खाइरहेका छन्। खाद्यान्न र बिजुलीको महँगी तीव्ररूपमा बढ्दै जाँदा, पहिलेदेखि नै आर्थिक कठिनाइ भोगिरहेका परिवारहरूमा थप बोझ परेको देखिएको छ।

संस्थाले गुड गोहान(Good Gohan)नामक खाद्य बैंक कार्यक्रम प्रयोग गर्ने निम्न–आय भएका एकल अभिभावक परिवारका २,१०५ जना अभिभावकहरूसँग जुनको सुरुमा सर्वेक्षण गरेको थियो। सहभागीमध्ये करिब ९६.१ प्रतिशत महिला थिए भने ५३.५ प्रतिशतको उमेर ४० को दशकमा थियो। धेरैजसो अभिभावकहरूले विद्यालय बिदामा विद्यालयले दिने मध्यान्ह भोजन बन्द हुँदा भान्साको खर्च थेग्न कठिन भएको जनाएका छन्।

उत्तरदातामध्ये ६१.३ प्रतिशतले विद्यालय बिदाका बेला घरको आर्थिक अवस्था “धेरै गाह्रो” हुने बताएका छन् भने ३६.४ प्रतिशतले “केही गाह्रो” हुने बताएका छन्। सबैभन्दा धेरै प्रयोग गरिने उपाय (६२.९%) भनेको अभिभावकहरूले आफैंको खाना घटाउनु रहेको थियो। केही अभिभावकहरूले आफ्ना बालबालिकाले समेत खानामा कटौती गर्न थालेको बताएका छन्।

एक अभिभावकले लेखे, “म केवल बच्चाहरूका लागि खाना बनाउँछु र उनीहरूको बाँकी बचेको खाना खान्छु। मेरो जेठो छोरा अहिले मिडल स्कूलमा पढ्छ, उसले धेरै नखान खोज्दा मलाई साह्रै नरमाइलो लाग्छ।”अर्काले लेखेका छन् , “गएको जाडो बिदामा म लगभग खानै छोडें र पेट दुखेर लडें। अहिले कम्तीमा दिनमा एकपटक खान खोज्छु।”

सर्वेक्षणले देखाएको छ कि विद्यालय बिदाका बेला दिनको दुई छाक वा त्योभन्दा कम खाने बालबालिकाको सङ्ख्या, विद्यालय खुलेको समयमा यस्तो गर्नेको सङ्ख्याको तुलनामा करीव २.५ गुणा बढी छ, अर्थात् ३२.२ प्रतिशत पुगेको छ। ९० प्रतिशत उत्तरदाताहरूले पछिल्लो महँगीपछि पोषिलो खाना बनाउनु पहिलेभन्दा झनै गाह्रो भएको बताएका छन्।

चामलको मूल्य वृद्धिलाई सबैभन्दा गम्भीर समस्या मानिएको छ। “भाउ यति धेरै छ, जब बालबालिकालाई पोषण अति आवश्यक हुन्छ,” एक अभिभावकले लेखे। “सस्तो चामलको लाइन बस्न फुर्सद छैन, अनि मलाई डर छ, ग्रीष्म ऋतुमा तरकारीको मूल्य झन् आकाशिने हो कि।”

सर्वेक्षफकर्ता संस्थाका अनुसार, धेरै परिवारले कम आय, अस्थायी रोजगारी र समयको अभावजस्ता समस्याहरू एकैसाथ झेलिरहेका छन्। करिब आधा उत्तरदाताहरू अनियमित रोजगारीमा छन् र उनीहरूको वार्षिक आम्दानी २० लाख येन भन्दा कम छ।

“यो समस्या बालबालिकाको शारीरिक वृद्धि र अभिभावकको स्वास्थ्य दुवैका लागि जोखिमपूर्ण छ,” संस्थाले एक विज्ञप्तिमा जनाएको छ।यस समस्यालाई ध्यानमा राख्दै, आगामी ग्रीष्मकालीन बिदामा खाद्य वितरण कार्यक्रमलाई थप विस्तार गर्ने योजना गुड नेइबर्स जापानले बनाएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार