टोकियो/ जापान । बागलुङ जिल्ला, ढोरपाटन नगरपालिका–६ चामी दुवार स्थायी ठेगाना भई रोजगारीको सिलसिलामा जापानको इबाराकीकेन, युकीसी, युकी सानकोपो साकायामा बस्दै आएकी शर्मिला पाईजाको शव अन्ततः जापानबाट नेपाल पठाइएको छ।

पाईजा मिति २०८२ साल असार ३० गते (2025/06/30) मा नियमित गर्भजाँचका लागि Akiba Obstetrics and Gynecology Hospital, Koga, Ibaraki गएकी थिइन्। गर्भमा रहेको शिशुको तौल नबढेकोले त्यही दिन साँझ चिकित्सकको सल्लाहमा शल्यक्रिया (अपरेसन) गरेर शिशुको जन्म दिइएको थियो। तर दुर्भाग्यवश २०८२ साल असार ३१ गते (2025/07/01) आमा र नवजात शिशु दुबैको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि Ibaraki Seinan Medical Center Hospital, Sakai मा रिफर गरिएको थियो। उपचारको केही समयमै हृदयघातका कारण पाईजाको निधन भएको पुष्टि गरिएको थियो।

शोकाकुल अवस्थामा मृतक पाईजाका श्रीमान् भुवन बुढा मगरले आर्थिक अवस्था कमजोर भएकोले शव नेपाल पठाउन नसकिने अवस्था रहेको जानकारी गराउँदै सहयोगको लागि पहल गर्न एनआरएनए कान्तोका संयोजक दिपक सुबेदी (बिप्लव) लाई आग्रह गरेका थिए। प्रारम्भमा विभिन्न संघसंस्थाहरूसँग सहयोगको लागि सम्पर्क गरिए पनि तत्कालीन अवस्थामा खासै सकारात्मक पहल नदेखिएको कारण बिप्लव सुबेदी तथा सामाजिक अभियन्ता बसन्त थापाले व्यक्तिगत तथा संस्थागत समन्वय गर्दै सहयोग अभियान प्रारम्भ गरेका थिए।

उक्त अभियानमा एमआरआर जापान, म्याग्दी समाज जापान, मगर समाज जापान, एनआरएनए तोचिगी लगायतका संस्थाहरूले आ–आफ्नो ढंगले सहयोग संकलन अभियान सञ्चालन गर्दै सहयोगी मनहरूसँग जोडिए। आर्थिक संकलन तथा सबै प्रक्रिया पुरा गरेर २०२५ जुलाई २३ मा शर्मिला पाईजाको शव नेपाल पठाइएको संयोजक बिप्लव सुबेदीले जानकारी दिएका छन्।

श्रीमान् भुवन बुढा मगरले सबै सहयोगी मनहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै, मृतकको नाममा जम्मा भएको सहयोग रकमको विस्तृत विवरण केही दिनमा सार्वजनिक गरिने बताएका छन्। धेरैजसो रकम भुवन बुढा मगर (ブダ マガル ブワン) को खातामा जम्मा भएको बताइएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार