टोकियो/जापान। जापानको मौसम विभागले ताईफु ९, ओगासावारा टापु समूह नजिकै सुस्त गतिमा स्थिर रहेको र यसले आगामी दिनहरूमा व्यापक असर पार्न सक्ने चेतावनी दिएको छ। यो ताइफु हालसम्म ओगासावारा क्षेत्रमा सबैभन्दा नजिक पुगेको पुष्टि भएको छ।

मौसम विभागका अनुसार, ताईफु ९ जुलाई २९ को बिहान ८ बजे चिचिजिमाको उत्तर-पूर्व करिब १३० किलोमिटर टाढा रहेको समुद्र क्षेत्रमा केन्द्रित थियो, जुन पश्चिम-उत्तरपश्चिम दिशातर्फ प्रति घण्टा १० किलोमिटरको दरले बिस्तारै सर्दैछ।

यस ताईफुको केन्द्रमा वायुदबाव ९७५ हेक्टोपास्कल रहेको छ भने अधिकतम हावाको गति ३० मिटर/सेकेन्ड र अधिकतम हावाको चाप ४५ मिटर/सेकेन्ड पुगेको छ। केन्द्रबाट ११० किलोमिटरको परिधिमा २५ मिटर प्रतिसेकेन्ड भन्दा बढीको शक्तिशाली हावा चलिरहेको छ।

ताईफुको गति सुस्त भएकोले जुलाई ३१ सम्म ओगासावारा नजिकको समुद्र क्षेत्रमा स्थिर रहने अनुमान गरिएको छ। त्यसैका कारण प्रभाव लामो समयसम्म कायम रहन सक्नेछ।

मौसम विभागले ओगासावारामा जुलाई ३१ सम्म शक्तिशाली हावा चल्ने र २९ तारिखमा अधिकतम हावाको गति २५ मिटर रहने पूर्वानुमान गरेको छ।
साथै, समुद्रमा ७ मिटर सम्मको ठूलो छाल आउन सक्ने भएकाले समुद्री गतिविधिमा संलग्न सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

३० तारिखसम्म स्थानीय स्तरमा मूसलधारे वर्षा हुने अनुमान छ।३० तारिख बिहानसम्मको २४ घण्टामा १२० मिलिमिटर र त्यसपछिको २४ घण्टामा ८० मिलिमिटर वर्षा हुन सक्नेछ।त्यसपछि पनि वर्षा जारी रहने सम्भावना रहेकोले पहिरो, नदीको बहाव, तथा होचो क्षेत्रमा जलमग्न हुने खतरा अत्यधिक बढेको छ।

यसैबीच, ताईफु न८ भने ओकिनावाको पश्चिमतर्फको समुद्रमा पुगेर जापानबाट टाढा भइसकेको छ। तर, उक्त ताईफुको प्रभाव भने अझै कायम छ।जसको कारण ओकिनावा र अमामी क्षेत्रको वातावरण अस्थिर बनेको छ।त्यसका कारण उक्त क्षेत्रहरूमा विकसित वर्षा प्रणालीहरू देखा परिरहेका छन्, जसले गर्दा भारी वर्षा र आकस्मिक बाढीको जोखिम अझै कायम रहेको बताइएको छ।

पहिले नै धेरै वर्षा परेकाले जमिन कमजोर भइसकेको अवस्थामा थप वर्षाले पहिरोको जोखिम बढाउने सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार