टोकियो/जापान। जापानमा रोजगारीको अवसर जुन महिनामा लगातार दोस्रो पटक घटेको छ। श्रम, स्वास्थ्य तथा कल्याण मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार, जुन महिनामा रोजगारी अनुपात ०.०२ अंकले घट्दै १.२२ मा झरेको छ। यसको अर्थ १०० जना रोजगारी खोज्ने व्यक्तिका लागि १२२ वटा मात्र जागिरका अवसर उपलब्ध थिए। कम्पनीहरूमा लागत वृद्धि तथा आर्थिक अनिश्चितताको प्रभावले नयाँ कर्मचारी भर्ना गर्न खासै रुची नदेखिएको मन्त्रालयले जनाएको छ।

क्षेत्रगत रूपमा हेर्दा, थोक तथा खुद्रा क्षेत्रमा एक वर्ष अघिको तुलनामा ११.७ प्रतिशतले नयाँ रोजगारी प्रस्तावमा गिरावट आएको छ। प्रविधिको प्रयोग, जस्तै सेल्फ चेकआउट मेसिनहरू, र जनशक्ति घटाउने रणनीतिका कारण कामदारको माग घटाइएको हो। साथै केही कम्पनीहरूले अमेरिकी प्रशासनद्वारा लागु गरेको उच्च भन्सार शुल्कको प्रभाव स्पष्ट नहुँदा नयाँ कर्मचारी नियुक्ति स्थगित गरेको बताएका छन्।

होटल तथा रेस्टुरेन्ट क्षेत्रमा २.० प्रतिशत र उत्पादन क्षेत्रमा १.३ प्रतिशतले रोजगारी प्रस्तावमा गिरावट आएको छ। यद्यपि जनशक्तिको अभाव कायमै रहे पनि कच्चा पदार्थ र जनशक्ति लागत बढ्नाले कम्पनीहरू सतर्क छन्।

दोसोतर्फ, सूचना तथा सञ्चार क्षेत्रमा नयाँ रोजगारीको प्रस्ताव ५.२ प्रतिशतले बढेको छ। शैक्षिक अनुसन्धान तथा विशेष सेवा क्षेत्रमा पनि १.८ प्रतिशतले वृद्धि देखिएको छ।

यसैबीच, जापानको बेरोजगारी दर भने लगातार चौथो महिनासम्म स्थिर रहँदै २.५ प्रतिशतमा रहेको छ। कार्यरत व्यक्तिहरूको संख्या ०.१ प्रतिशतले घट्दै ६ करोड ८३ लाख २० हजार पुगेको छ भने बेरोजगारहरूको संख्या १७ लाख २० हजारमै स्थिर रहेको छ।

स्वेच्छाले जागिर छाड्ने व्यक्तिको संख्या ८ लाख पुगेको छ, जुन मे महिनाको तुलनामा ९.६ प्रतिशतले बढी हो। कामबाट निकालिएका व्यक्तिको संख्या ३ लाख ५० हजार पुगेको छ, जुन १४.६ प्रतिशतले घटेको हो। त्यस्तै, नयाँ रोजगारी खोज्ने व्यक्तिहरूको संख्या ४ लाख ५० हजार रहेको छ, जुन अघिल्लो महिनाको तुलनामा २.२ प्रतिशतले कम हो।

यो अवस्था जापानको श्रम बजारमा देखिएको सतर्कता र प्रविधिको प्रभावसहितको रूपान्तरणको संकेत हो, जसले भविष्यमा रोजगारीको स्वरूप परिवर्तन गर्ने सम्भावना पनि देखाउँछ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार