टोकियो/जापान। जापान संसारकै एकदमै शिष्ट र अनुशासित देशको रूपमा चिनिन्छ। यहाँ सार्वजनिक स्थानमा हुने व्यवहार र बानीहरू निकै महत्वपूर्ण मानिन्छन्, विशेषतः ट्रेन जस्तो व्यस्त सार्वजनिक यातायातहरुमा अझ विशेषरुपमा हेरिन्छ ।

तथापि, जापानमा बिहानको अफिस समयमा हुने यात्रा निकै तनावपूर्ण हुने गर्छ। टोकियोजस्ता शहरमा विश्वकै सबैभन्दा व्यस्त रेलवे स्टेसनहरू छन्, जहाँ दिनहुँ लाखौँ मानिसहरू चढ्ने-ओर्लने गर्छन्। यस्तो भीडमा अनुशासनको पालना गर्नु मात्र शिष्टाचार होइन, आवश्यकताको रूपमा लिइन्छ।तर यति हुँदाहुँदै पनि केही व्यवहारहरू यात्रुहरूलाई अत्यन्तै झर्को लाग्ने गरेको एक सर्वेक्षणले देखाएको छ।

जापानी मिडिया साइट(Biz Hits Career Blog)ले हालै जापानका विभिन्न उमेर समूहका ५०० यात्रुहरू (उमेर २० देखि ६० वर्ष माथिसम्म) सँग कुराकानी गरेर एक सर्वेक्षण गरेको थियो।९१.६ प्रतिशत यात्रुहरूले आफू ट्रेन चढ्दा कुनै न कुनै व्यवहारले झर्को महसुस गर्ने बताएका छन्।४८.६ प्रतिशत यात्रुहरू बिहानको ८ देखि ९ बजेसम्म यात्रा गर्छन् — जुन समयमा तनाव उच्च हुने सम्भावना धेरै हुन्छ।

जापानी यात्रुहरूलाई सबैभन्दा झर्को लाग्ने ट्रेन गरिने व्यवहारहरु

१. ठूलो स्वरमा कुराकानी गर्ने/फोनमा बोल्ने
ट्रेनमा शान्त वातावरणको अपेक्षा गरिन्छ। कोही व्यक्तिले फोनमा कराएर बोल्दा वा साथीहरूसँग हाँस्दै चर्को आवाजमा कुरा गर्दा अरू यात्रुहरूलाई धेरै झर्को लाग्छ।

२. प्राथमिकताका सिटहरुको ख्याल नगर्ने
जेष्ठ नागरिक, अपांगता भएका वा गर्भवती महिलाहरूका लागि छुट्याइएको सिटमा बसेर पनि आवश्यक यात्रु आएपछि उठेर नदिने व्यवहार धेरै यात्रुहरूलाई असभ्य लाग्छ।

३.अनावश्यक सिटहरु ओगट्ने/ब्याग फैलाएर सिटमा राख्ने
एउटा सिटमा मात्र बस्नुपर्ने ठाउँमा झोलाहरू फैलाएर वा आफ्नो शरीर फैलाएर दुई जनाको सिट ओगट्ने बानी यात्रुहरूलाई अत्यन्त झर्को लाग्छ।

३.ढोका खोल्न/छिर्न आतुर यात्रुहरू
ट्रेन रोकिएपछि मानिसहरू ओर्लिन नपाउँदै चढ्ने कोसिस गर्नु । यो व्यवहार अनुशासनहीन मानिन्छ। पहिले ओर्लन दिने अनि चढ्ने सामान्य नियम पालना नगर्दा तनाव सिर्जना हुन्छ।

५. ट्रेनभित्रको प्राथमिक सिटमा फोन प्रयोग गर्ने
प्रायः ट्रेनका म्यानर्स सिट (priority seat) नजिकै फोन निषेध गरिएको हुन्छ। यहाँ फोन प्रयोग गर्दा पेसमेकर प्रयोग गरिरहेकाहरूमा असर पर्न सक्छ। तर अझै पनि केही यात्रुहरूले यस नियमको उल्लंघन गर्ने गर्छन्।

६. शरीरको गन्ध
गर्मीमा पसिनाको गन्ध वा अत्यधिक पर्फ्युम लगाएर यात्रा गर्ने यात्रुहरू अरूलाई असहज बनाउँछन्। खासगरी बिहानको व्यस्त समयमा यस्तो गन्ध बढी पीडादायक हुन सक्छ।

७. कपाल मिलाउने , मेकअप गर्ने, खाना खाने
यात्रीहरूले ट्रेनलाई आफ्नो व्यक्तिगत कोठाजस्तो व्यवहार गर्दा (कपाल सिधा पार्ने, मेकअप गर्ने, स्न्याक्स खाने आदि) यात्रुहरूलाई असहज महसुस हुन्छ।

८. सामाजिक दूरीको बेवास्ता गर्ने
कोही यात्रुहरू अत्यधिक नजिक सरेर उभिनु वा शरीर टाँसिएर खुट्टा फैलाएर बस्नुले अरूलाई दु:ख दिन्छ। विशेषगरी कोभिडपछि सामाजिक दूरीको कुरामा जापानीहरू अझ संवेदनशील भएका छन्।

ट्रेन जस्तो सार्वजनिक स्थानमा सहयात्रीहरूको सम्मान र सुविधा सम्झेर आफूको व्यवहारलाई अनुशासित बनाउनु अत्यन्त जरुरी हुन्छ। जापानजस्तो सभ्य समाजमा यस्ता कुराहरूलाई ‘म्यानर्स’ मात्र होइन, सहअस्तित्वको मूल आधार मानिन्छ।यदि तपाईं जापानमा बस्नुहुन्छ वा यहाँ भ्रमणमा आउनुहुन्छ भने, यी सामान्य तर महत्वपूर्ण शिष्टाचारहरूमा ध्यान दिनु जरुरी छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार