टोकियो/जापान। जापानमा लगातारको गर्मीका कारण एक सातामा ७ हजार ५ सयभन्दा बढी मानिसलाई ‘हिट स्ट्रोक’ (熱中症) का कारण अस्पताल पुर्याइएको छ। जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीका अनुसार अगष्ट ४ देखि १० तारिखसम्मको अवधिमा ७ हजार ५ सय ७८ जना बिरामी उपचारका लागि अस्पताल पुर्याइएका थिए, जुन अघिल्लो साताको तुलनामा करिब १ हजार ९ सय जना कम हो।

उक्त अवधिमा ९ जनाको मृत्यु भएको छ भने गम्भीर वा मध्यम अवस्थामा रहेका २ हजार ८ सय ८७ जनालाई अस्पताल भर्ना गरिएको छ। अस्पताल भर्ना आवश्यक नपर्ने हलुका अवस्थाका बिरामीको संख्या ४ हजार ६ सय ४० जना पुगेको छ।

उमेरको हिसाबले ६५ वर्षभन्दा माथिका नागरिक ४ हजार १ सय ६४ जना रहेका छन्। त्यस्तै १८ देखि ६५ वर्षमुनिका २ हजार ८ सय २७ जना, ७ देखि १८ वर्षमुनिका ५ सय ६३ जना र ७ वर्षमुनिका २४ जना रहेका छन्।

स्थानगत विवरण अनुसार सबैभन्दा धेरै ३ हजार ७५ जना आवासीय घरभित्र, १ हजार ४ सय ९३ जना सडकमा, १ हजार ७३ जना निर्माण स्थल वा कारखानामा, र ७ सस २५ जना बाहिरी खेलमैदान वा पार्किङ क्षेत्रमा प्रभावित भएका छन्।

प्रान्तगत रूपमा टोकियोमा १ हजार ९३ जना, कानागावामा ६ सय ३९ जना, ओसाकामा ५ सय १९ जना र आइचीमा ५ सय ४ जना हिट स्ट्रोकका कारण अस्पतालमा पुगेका थिए।

यो वर्ष मे १ देखि अगष्ट १० सम्म कुल ७० हजार २ सय ११ जना हिटस्ट्रोकका कारण बिरामी भएका छन् । जुन गत वर्षको सोही अवधिका ६८ हजार ८ सय ३७ जना भन्दा करिब १ हजार ३ सय जना बढी हो।

संबन्धित निकायले विशेषगरी हालैको भारी वर्षापछि भइरहेको पुनर्निर्माण तथा मर्मत कार्यमा संलग्न व्यक्तिहरूलाई पर्याप्त पानी पिउन, नियमित विश्राम लिन र गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार