टोकियो/जापान। कन्विनिएंस स्टोर चेन मिनिस्टपले देशभरका केही पसलहरुमा स्टोर भित्रै पकाइएका ओनिगिरी, बेन्तो लगायतका परिकारमा वास्तविकभन्दा लामो उपभोग्य म्याद देखाएर गलत लेबलिङ गरिएको पत्ता लागेको भन्दै ती सामानको बिक्री तत्काल रोकिएको घोषणा गरेको छ।

कम्पनीका अनुसार, गलत लेबलिङ गरिएको सामानमा स्टोरभित्र पकाइने ओनिगिरी तथा बेन्तो लगायतका परिकार परेका छन्। त्यस्ता सामानलाई पहिलोपटक राखिएको उपभोग्य म्याद सकिएपछि पुनः म्याद थपिएको नयाँ लेबल टाँस्ने, वा पकाएको केही घण्टापछि मात्रै उपभोग्य म्याद देखाइएको लेबल टाँस्ने जस्ता कार्य भएको बताईएको छ।

अहिलेसम्म टोकियो, ओसाका, आइचीसहित ७ वटा प्रिफेक्चरका २३ शाखामा यस्ता घटना भएको पुष्टि भएको छ।

यस कारण कम्पनीले यहि अगस्ट ९ तारिखदेखि सबै शाखामा पकाइने ओनिगिरी र बेन्टोको बिक्री रोकिएको र अगस्ट १८ देखि पसलभित्र पकाइने अन्य परिकारको बिक्री पनि रोकिएको जनाएको छ।

हालसम्म स्वास्थ्यसम्बन्धी कुनै असर वा समस्या पत्ता लागेको छैन। तर कम्पनीले सम्बन्धित क्षेत्रका स्वास्थ्य कार्यालयलाई जानकारी गराइसकेको र यस्तै अन्य घटना भए /नभएको निश्तित गर्न थप अनुसन्धान भइरहेको जनाएको छ।

मिनिस्टपले विज्ञप्ति जारी गर्दै भनेको छ-
“ग्राहकहरूलाई ठूलो असुविधा पुर्‍याएकोमा हामी हृदयदेखि नै क्षमाप्रार्थी छौं। अबदेखि सम्बद्ध स्टोर र मुख्य कार्यालय मिलेर अझ सुरक्षित र विश्वासिलो सामान उपलब्ध गराउनेछौं।”


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार