तस्वीरःएआई

टोकियो/जापान। विश्वव्यापी सर्वेक्षणअनुसार जापानको राजधानी टोकियोलाई कामसहितको बिदा (वर्केसन) मनाउन उपयुक्त उत्कृष्ट शहरको रूपमा पहिलो स्थानमा राखिएको छ।

स्विस कम्पनी इन्टरनेश्नल वर्कप्लेस ग्रुप(International Workplace Group)ले विश्वका ४० वटा शहरलाई लचिलो कार्यस्थल, डिजिटल नोमाड भिसाको पहुँच, इन्टरनेटको गुणस्तर, सुरक्षात्मक वातावरण र प्राकृतिक सौन्दर्य जस्ता सूचकाङ्कमा मूल्याङ्कन गर्दै यो सूची सार्वजनिक गरेको हो।

यसपटक पहिलो पटक सूचीमा समावेश गरिएको टोकियोले असाधारण इन्टरनेट स्पिड, यातायात संरचना, सुरक्षाको उच्च स्तर, समृद्ध संस्कृति र नयाँ डिजिटल नोमाड भिसाका कारण शीर्ष स्थान हासिल गरेको हो। सर्वेक्षणमा टोकियोको नजिकैका पहाड, समुद्री तट र राष्ट्रिय उद्यानले वर्केसन चाहनेहरूलाई शहरको आकर्षणसँगै प्रकृतिको रमाइलो लिन सहज बनाउने उल्लेख गरिएको छ।

गतवर्षको विजेता बुडापेस्टलाई पछाडि पार्दै टोकियोले बार्सिलोना, बेइजिङ र पेरिस जस्ता प्रतिस्पर्धी शहरहरूलाई उछिनेको छ। एसियामा भने सिओल चौथो र बेइजिङ छैठौं स्थानमा परेका छन्।

जापान सरकारले सन् २०२४ अप्रिलमा डिजिटल नोमाड भिसा सुरु गरेको थियो। यो भिसाले वार्षिक आय १ करोड येन वा सोभन्दा बढी कमाउने व्यक्तिहरूलाई जापानमा अधिकतम ६ महिनासम्म काम गर्न अनुमति दिन्छ। ५१ देशका पासपोर्टधारी, स्व–रोजगार व्यवसायी तथा उनीहरूको परिवारका सदस्यहरू पनि यो भिसाका लागि योग्य हुने व्यवस्था छ। गएको वर्ष जापानले २ सय५७ डिजिटल नोमाड भिसा जारी गरेको थियो।

येन कमजोर भएसँगै जापानमा पर्यटन अझै बढेको छ। जापान राष्ट्रिय पर्यटन संगठनका अनुसार सन् २०२५ को पहिलो छ महिनामा मात्र २१.५२ मिलियन विदेशी पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको १७.७८ मिलियनभन्दा उल्लेख्य रूपमा बढी हो।

सर्वेक्षणमा टोकियोले सांस्कृतिक आकर्षण, मिशेलिन स्टार रेष्टुरेन्टहरूको संख्या, सांस्कृतिक कार्यक्रम र खाद्यान्नको वहनयोग्य मूल्यतर्फ पनि उच्च अंक प्राप्त गरेको छ।

यसपटकको सूचीमा नयाँ शहरहरूका रूपमा सिओल, कायरो, केप टाउन, मेलबर्न, रोम, मेक्सिको सिटी, अमेरिकाको ओरल्यान्डो, प्राग र रेक्याभिक पनि थपिएका छन्।

कोरोना महामारीपछि वर्केसनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गरिएको हो। अनुमानअनुसार हाल विश्वभर करिब ४ करोड डिजिटल नोमाड छन्। जापानमै पनि महामारीका बेला विभिन्न राष्ट्रिय निकुञ्जमा वाइफाइ र पोर्टेबल वर्कस्टेशन जडान गरी वर्केसनलाई प्रोत्साहन गरिएको थियो।

जापान राष्ट्रिय पर्यटन संगठनले भनेको छ, “कम्प्युटरमा लामो समय काम गर्नेहरूका लागि स्क्रिन ब्रेक लिनु अत्यावश्यक हुन्छ। कफी लिन उठ्नु राम्रो हो, तर त्यो कफी ताल किनारमा बसेर वा चराचुरुङ्गीको आवाज सुन्दै पिउनु अझै राम्रो हुन्छ।”


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार