तस्वीरःएआई

नागोया/जापान। जापानको मध्य भागमा पर्ने आइची प्रिफेक्चरको तोयोआके सहरले स्मार्टफोनको अत्यधिक प्रयोगले स्वास्थ्य र समाजमा नकारात्मक असर पार्ने चिन्ताका कारण, काम र विद्यालय बाहेक दिनमा अधिकतम दुई घण्टामात्र प्रयोग गर्न सिफारिस गर्ने अध्यादेश को मस्यौदा तयार गरेको छ।

यो अध्यादेश पारित भएमा स्मार्टफोन प्रयोगमा यस प्रकारको सिफारिस गर्ने जापानकै पहिलो स्थानीय नियम बन्ने सम्भावना रहेको बताइएको छ। स्थानीय सभामा स्वीकृत भएपछि यो अध्यादेश आगामी अक्टोबर १ तारिखदेखि लागू हुनेछ।

सहरका एक अधिकारीले भने , “हामी यो अध्यादेश मार्फत मानिसहरूले आफ्नो स्मार्टफोन प्रयोगबारे सोच्ने अवसर पाउँछन् भन्ने अपेक्षा गर्छौं।”

मस्यौदामा विशेष गरी बालबालिकाको स्वास्थ्यलाई ध्यान दिइएको छ। यसअनुसार प्राथमिक विद्यालयका विद्यार्थीहरूले राति ९ बजेपछि स्मार्टफोन प्रयोग नगर्न र माध्यमिक विद्यालयका विद्यार्थी तथा माथिल्लो उमेरका व्यक्तिहरूले राति १० बजेसम्ममा स्मार्टफोन राखिदिन आग्रह गरिएको छ।

मस्यौदाले स्मार्टफोन, कम्प्युटर र ट्याब्लेटहरू आधुनिक जीवनका आवश्यक साधन भएको स्वीकारे पनि सामाजिक सञ्जाल र भिडियो स्ट्रिमिङको अत्यधिक प्रयोगले स्वास्थ्य र पारिवारिक जीवनमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ।

सहर प्रशासनले विद्यालय र अभिभावकहरूसँग सहकार्य गरेर इलेक्ट्रोनिक उपकरणको स्वास्थ्यपूर्ण प्रयोगलाई प्रोत्साहन गर्ने जनाएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार