टोकियो/जापान। जापानको दक्षिणी क्युसु क्षेत्र पार गरेर गएको ताईफु नम्बर १२ को प्रभावले खागोसिमा प्रिफेक्चरमा ठूलो पानी परेको छ जसका कारण डुबान र पहिरोका घटनाहरू भइरहेका छन्। अहिले पनि विकसित वर्षा बादलले प्रिफेक्चरलाई ढाकिरहेको र अत्यन्तै तेज वर्षा भइरहेको छ। ताईफुको गति ढिलो भएकाले कुल वर्षा अझै बढ्ने सम्भावना छ, जसले गर्दा पहिरोको जोखिम अत्यधिक बनेको छ।

जापान मौसम विज्ञान विभागका अनुसार, खागोशिमा प्रिफेक्चरको पश्चिमी समुद्रतटमा रहेको वायुमण्डलीय निम्नचाप बलियो भएर बनेको ताईफु नम्बर १२ गत २१ अगस्ट बेलुकी खागोशिमा प्रिफेक्चरको हीकी शहर नजिक भूमिमा प्रवेश गरेको हो।

ताईफु २२ अगस्ट बिहान ६ बजे, मियाजाकी प्रिफेक्चरको ह्युगा शहरको दक्षिण-दक्षिणपूर्व करिब ४० किलोमिटर टाढा समुद्रमा उत्तर-पूर्वतर्फ सुस्त गतिमा अगाडि बढिरहेको छ। यसको केन्द्रको वायुचाप १००६ हेक्टोपास्कल, अधिकतम स्थायी हावा वेग १८ मिटर प्रतिसेकेन्ड र अधिकतम झड्का २५ मिटर प्रतिसेकेन्ड रहेको छ। केन्द्रको पूर्वतर्फ १५० किलोमिटरभित्र र पश्चिमतर्फ ११० किलोमिटरभित्र १५ मिटर प्रतिसेकेन्डभन्दा बढीको तेज हावा चलिरहेको छ।

२२ अगस्ट बिहान ताईफु मियाजाकी प्रिफेक्चरको समुद्रतर्फ निस्किए पनि आसपासको विकसित वर्षा बादलले खागोशिमा प्रिफेक्चर केन्द्रित गरी मियाजाकी र कोची प्रिफेक्चरमा समेत वर्षा तीव्र बनाइरहेको छ। बिहान ६ बजेसम्मको एक घण्टामा खागोशिमा प्रिफेक्चरको मिनामी-क्युशु शहरमा ८१ मिलिमिटर, इबुसुकी शहरमा ४९ मिलिमिटर र मियाजाकी प्रिफेक्चरको कुशिमा शहरमा ३८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

२४ घण्टामा परेको वर्षाको मात्राले कागोशिमा शहरको कीइरे क्षेत्रमा ३२१.५ मिलिमिटर, मिनामी सट्सुमा शहरमा २९० मिलिमिटर, हीकी शहरमा २७६ मिलिमिटर र तानेगाशिमा टापुमा २५२.५ मिलिमिटर पुगेको छ, जुन प्रत्येक स्थानमा अगस्ट महिनाको औसत वर्षा भन्दा बढी हो।

यसअघि परेको वर्षाले खागोशिमा प्रिफेक्चरमा पहिरोको जोखिम उच्च बनेको छ र केही क्षेत्रमा पहिरो चेतावनी जारी गरिएको छ।

आगामी अनुमानअनुसार, ताईफुले गति बढाउने सम्भावना नरहेको र मियाजाकी प्रिफेक्चरको समुद्रतर्फ उत्तर-पूर्वतर्फ बढ्ने देखिएको छ। २२ अगस्ट दिउँसोभित्र  निम्नचापमा परिणत हुने अनुमान गरिएको छ। तर गति ढिलो भएकाले त्यही क्षेत्रमै वर्षा निरन्तर हुने र कुल वर्षा अझ बढ्ने सम्भावना छ।

क्यूशु दक्षिणी भागमा स्थानीय रूपमा मेघगर्जनसहित अति तीव्र वर्षा पर्न सक्ने र २३ अगस्ट बिहानसम्म २४ घण्टामा अधिकतम १५० मिलिमिटर वर्षा हुने पूर्वानुमान गरिएको छ।

खागोसिमा प्रिफेक्चरमा यसै महिनाको सुरुवातमा पनि अभूतपूर्व वर्षाले ठूलो क्षति पुर्‍याएको थियो। केही क्षेत्रमा भूस्खलनका कारण जमिन कमजोर भएको वा बाँध फुटेको हुनाले, वर्षा केही कम भए पनि सुरक्षित स्थानमा बस्न सिफारिस गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार