टोकियो/जापान। जापानी शौचालय निर्माता कम्पनी टोटो (Toto) ले नयाँ सेवा सुरु गरेको छ, जसले सार्वजनिक स्थानमा आकस्मिक रूपमा शौचालय खोज्नुपर्ने अवस्थामा मोबाइलमार्फत नजिकको शौचालयको स्थान मात्र होइन, त्यहाँको भीडभाडको अवस्थाबारे पनि रियल–टाइममा जानकारी उपलब्ध गराउने सुविधा दिन्छ।

जापानमा, अन्य मुलुकहरूजस्तै, भीडभाडयुक्त रेल स्टेशन वा सार्वजनिक स्थलहरूमा विशेषगरी महिलाहरूको लागि लामो लाइन व्यवस्थापन गर्न कठिन हुने समस्या रहँदै आएको छ।

यो महिना सुरु गरिएको नयाँ प्रणाली टोटोको इन्टरनेट–जडित सुविधा व्यवस्थापन प्रणालीसँग जोडिएको छ। यस प्रणालीले कुनै कोठा (क्यूबिकल) असामान्य रूपमा लामो समयसम्म प्रयोग भएको खण्डमा वा फोहोर भएको खण्डमा स्वचालित रूपमा सफाइ कर्मचारीलाई सूचना दिने गर्छ।

अब प्रयोगकर्ताले आफ्नो मोबाइलमार्फत सार्वजनिक स्थानमा राखिएका क्युआर( QR )कोड स्क्यान गरेर शौचालयको स्थान र भीडभाडको वास्तविक स्थिति हेर्न सक्नेछन्। यस्तै, शौचालयभित्रै राखिएको अर्को QR कोड स्क्यान गरेर, पानी फ्लश नहुने वा उपकरण बिग्रिएको समस्या प्रत्यक्ष रिपोर्ट गर्न सकिन्छ। यो जानकारी कम्पनीका प्रवक्ता तासुकु मियाजाकीले अन्तर्राष्ट्रीय मिडियासंग बताएका हुन् ।

यो सेवा बहुभाषिक छ, जसमा अंग्रेजी, चिनियाँ र कोरियन भाषामा पनि प्रयोग गर्न सकिने सुविधा रहेको छ।

सार्वजनिक शौचालयमा लामो लाइनको समस्या विशेषगरी महिलाका लागि न्यूनीकरण गर्ने उद्देश्यले, जापानी सरकारले पनि पहल थालेको छ। यातायात मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा अतिरिक्त रकम माग गर्दै डिजिटल साइनबोर्ड र महिलाका लागि आवश्यक पर्दा थप क्यूबिकल बनाउन सकिने सार्न मिल्ने पर्खाल स्थापना गर्ने योजना बनाएको छ, भनी स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार