टोकियो/जापान। जापानमा पछिल्लो २ वर्षयता महंगी अत्यन्तै तीव्रगतिमा बढिरहेको छ। यसले मानिसहरुका दैनिक खाना खर्च समेत अधि बढाएको छ। जापानमा बसोबास गर्ने तपाईको खाना खर्च कत्तिको बढेको छ त ?

पछिल्लो एक सर्वेक्षण अनुसार जापानका प्रमुख सहरमध्ये करिब ८० प्रतिशतमा घरायसी खर्चमा खानामा जाने अनुपात पछिल्ला पाँच वर्षमा (२०२० देखि २०२४ सम्म) उच्च बिन्दुमा पुगेको छ।

पछिल्लो सरकारी तथ्यांकको विश्लेषण गरि, क्योदो न्युजले प्रकाशन गरेको समाचारका अनुसार जापानका ४६ प्रिफेक्चरका मुख्य सहर तथा टोकियोको मूख्य क्षेत्रको आधारमा, १९८५ यता हरेक ५ वर्षको औसतलाई हेर्दा यस पटक खाना खर्च ठूलो अनुपातमा बढेको छ।

सन् २०२० देखि २०२४ सम्म दुई वा दुईभन्दा बढी सदस्य भएको परिवारमा गरिएको सर्वेक्षणअनुसार ४७ सहरमध्ये ३७ सहरमा (७८.७ प्रतिशत) यो अनुपात रेकर्ड उच्च पुगेको छ। यस अवधिमा ओसाकाले सबैभन्दा उच्च ३१.२ प्रतिशत नतिजा देखायो भने, दोस्रोमा आओमोरी २९.६ प्रतिशत र तेस्रोमा कोबे २९.२ प्रतिशत पुगे।

राष्ट्रिय औसत सन् १९८५–१९८९ मा २६.१ प्रतिशत थियो, जसले करिब २५ वर्षसम्म (सन् १९९० देखि २०१४) २३–२४ प्रतिशतको दायरा कायम राख्यो। तर सन २०१५–२०१९ मा २५.६ प्रतिशत पुगेको यो दर, पछिल्लो अवधिमा बढेर २७.५ प्रतिशतमा पुगेको छ।

सन् २०२० तिर बढेको यो दर कोरोनाभाइरस महामारीका कारण बाहिर खानेजस्ता गतिविधिमा भएको खर्च घट्दा देखिएको हो। त्यसपछि भने येन कमजोर हुनु र खाद्यान्न तथा अन्य कच्चा पदार्थको मूल्य बढ्नुका कारण खानाको मूल्य वृद्धिसँगै यो दर झन् बढेको हो।

सन् १९६० को दशकको सुरुवाततिर जापानको उच्च आर्थिक वृद्धिका समयमा यो दर करिब ४० प्रतिशतमा थियो, तर अर्थतन्त्र विस्तारसँगै पछि घट्दै गएको थियो।

यो विश्लेषण जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले मासिकरूपमा प्रकाशन गर्ने पारिवारिक आय र खर्च सर्वेक्षणमा आधारित छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार