टोकियो/जापान। पन्ध्र पटक पारालिम्पिक स्विमिङमा स्वर्ण जितेकी जापानी पौडीबाज मायुमी नरिता को ५५ वर्षको उमेरमा निधन भएको छ। उनलाई “क्विन अफ वाटर” उपनामले चिनिन्थ्यो। उनको निधन शुक्रबार इन्ट्राहेपाटिक बाइल डक्ट क्यान्सरका कारण भएको हो।

कानागावा प्रिफेक्चरकी मूल निवासी नरिता ह्वीलचेयरमा जीवन बिताइरहेकी थिइन्। उनी जूनियर हाईस्कुलदेखि नै शरीरको तल्लो भाग पक्षघात भएपछि ह्वीलचेयरमा निर्भर थिइन्। त्यसपछि उनले २३ वर्षको उमेरमा मात्र पौडी खेल सुरु गरेकी थिइन्।

नरिताले आफ्नो पहिलो पारालिम्पिक सहभागिता एटलान्टा सन् १९९६ मा गर्दै दुईवटा स्वर्ण जितेकी थिइन्। त्यसपछि सिड्नी सन् २००० मा उनले छवटा र एथेंस सन् २००४ मा सातवटा स्वर्ण पदक जितेकी थिइन्। यसरी उनले कुल ६ वटा पारालिम्पिकमा २० पदक (१५ स्वर्णसहित) जित्दै इतिहास रचिन्।

उनले अन्तिम पटक पारालिम्पिकमा सहभागिता टोकियो सन् २०२१ मा ५१ वर्षको उमेरमा गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार