टोकियो/ जापान। जापानमा १ सय वर्ष नाघेका वृद्ध–वृद्धाको संख्या निरन्तर बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हाल १ सय वर्ष उमेर पार गरेका नागरिकहरूको संख्या ९९ हजार ७ सय ६३ पुगेको छ, जुन अघिल्लो वर्षभन्दा ४ हजार ६ सय ४४ ले बढी हो। तीमध्ये करिब ८८ प्रतिशत महिला रहेका छन्। यो तथ्यांकले जापानलाई विश्वकै दीर्घायु मुलुकको रूपमा पुनः प्रमाणित गरेको छ।

जापानमा दीर्घायु मात्र नभई वृद्धावस्थासम्म पनि सक्रिय श्रमशक्ति देखिन्छ। पछिल्लो तथ्यांकअनुसार ६५ वर्ष वा सोभन्दा माथिका करिब ९१ लाख मानिस अझै रोजगारमा संलग्न छन्। यो कुल वृद्ध जनसंख्याको एक चौथाइभन्दा बढी हो। विशेषगरी, ६५ देखि ६९ वर्ष उमेर समूहका आधाभन्दा बढी, ७० देखि ७४ उमेर समूहका झन्डै एकतिहाई, र ७५ वर्षभन्दा माथिका करिब एक दशमांश वृद्ध अझै काम गरिरहेका छन्। यसले जापानी समाजमा वृद्धहरूको भूमिकालाई अझै महत्वपूर्ण बनाइरहेको छ।

जापानीहरूको दीर्घजीवनका पछाडि सन्तुलित आहार, नियमित व्यायाम, सामुदायिक सहभागिता, गुणस्तरीय स्वास्थ्य सेवा र जीवनलाई अर्थपूर्ण बनाउने ‘इकिगाई’ भन्ने दर्शनलाई मुख्य आधार मानिन्छ। समुद्री खानेकुरा, हरियो तरकारी, चामल र हलुका तर पौष्टिक खानेकुरामा आधारित आहार, पैदलयात्रा र सक्रिय जीवनशैलीले शारीरिक स्वास्थ्यलाई मजबुत बनाएको छ भने सामुदायिक सहभागिता र सामाजिक सम्बन्धले मानसिक स्वास्थ्यलाई सुदृढ बनाएको छ।

सरकारले पनि वृद्ध नागरिकहरूको स्वास्थ्य प्रवर्द्धन र सामाजिक सहभागिता बढाउन विभिन्न कार्यक्रमहरू अघि सारेको छ। नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक चरणमै रोगको पहिचान र रोकथाममुखी उपचार प्रणालीले दीर्घजीवनलाई सहज बनाएको छ।

नेपालजस्ता मुलुकका लागि जापानको अनुभव प्रेरणादायी बन्न सक्छ। वृद्धमैत्री नीति, सामाजिक सुरक्षा, स्वस्थ जीवनशैली र सक्रिय सहभागिता प्रोत्साहन गर्न सकेमा नेपालमै पनि दीर्घजीवन सम्भव हुने विशेषज्ञहरूको मत छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार