टोकियो/जापान। जापानमा सन २०२५ को पहिलो छ महिनामा मात्रै १२ लाखभन्दा बढी फिसिङ सम्बन्धी घटनाहरू दर्ता भएका छन्। राष्ट्रिय प्रहरी एजेन्सीले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या अघिल्लो वर्षको रेकर्डलाई पार गर्ने दिशामा रहेको छ।

मन्त्रालयका अनुसार यस अवधिमा ११ लाख ९६ हजार ३ सय १४ वटा फिसिङ घटना रिपोर्ट भएका छन्। यसै दरमा वर्षभरि घटनाहरू बढेमा सन २०२४ मा बनेको १७ लाख १८ हजार ३६ को रेकर्ड तोडिनेछ। तुलनात्मक रूपमा हेर्दा सन २०१९ मा जम्मा ५५ हजार ७ सय ८७ घटना मात्रै दर्ता भएका थिए।

हाल उपभोक्ताहरूलाई कम्पनी वा बैंककै वेबसाइटजस्तो देखिने ठगी साइटमा लगेर व्यक्तिगत विवरण चोर्ने प्रवृत्ति बढिरहेको छ। साथै “भ्वाइस फिसिङ” नामक नयाँ प्रविधि पनि तीव्र गतिमा फैलिएको छ, जसमा ठगहरूले फोनमार्फत व्यक्तिगत विवरण निकाल्ने गरेका छन्।

सेक्युरिटी खातामाथि आक्रमण तीव्र रूपमा बढेको तथ्यांकले देखाएको छ। जनवरीमा १०४ मात्र रहेका फिसिङ इमेलहरू मे महिनासम्म आइपुग्दा ७३ हजार ८५७ मा उक्लिएका छन्। यस्तै, जनवरीमा करिब २ अर्ब ८० करोड येन बराबरको सेयर तथा वित्तीय सम्पत्ति ठगीका लागि प्रयोग भएकोमा अप्रिलसम्म पुग्दा यो रकम २९२ अर्ब येन पुगेको छ।

अनलाइन ठगीबाट ठूलो आर्थिक क्षति
अनलाइन बैंकिङ ट्रान्सफर स्क्याममार्फत मात्र जनवरीदेखि जुनसम्म करिब ४ अर्ब २२ करोड येन बराबरको क्षति भएको छ। यससँगै र्यान्समवेयर आक्रमण पनि बढेका छन्। यस अवधिमा ३० वटा प्रान्तमा ११६ घटना दर्ता भएका छन्, जुन सन २०२२ को दोस्रो छ महिनामा बनेको रेकर्डसँग बराबरी हो।

र्यान्समवेयर आक्रमणमा आक्रमणकारीले कम्प्युटर सर्भरमा भाइरस पठाएर कम्पनीको डाटा प्रयोग गर्न नसक्ने बनाइदिन्छन् र पुनः प्रयोग गर्न सक्ने सर्तमा फिरौती माग्छन्।

विशेषज्ञहरूले जापानमा फिसिङ आक्रमणको तीव्र वृद्धि साइबर सुरक्षाका लागि गम्भीर चुनौती बनेको चेतावनी दिएका छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार